
पोखरा। कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमद्वारा पोखरामा आयोजित ’गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल प्रतियोगिता-२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे) गण्डकीले जितेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पत्रकार महासंघ बागलुङलाई २-० गोल अन्तरले पराजित गर्दै एनएफएसजेले उपाधि चुमेको हो।
जितसँगै एनएफएसजे गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको पत्रकार महासंघ बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगितामा एनएफएसजे गण्डकीका धनबहादुर गुरुङ (सुमन) उत्कृष्ट प्रशिक्षक तथा बागलुङका रोहन जिसी सर्वोत्कृष्ट खेलाडी घोषित भए; दुवैले जनही ५ हजार रुपैयाँका साथै एडभेन्चर पार्टनर ’गो बन्जी’का तर्फबाट फ्लाई कूपन प्राप्त गरे।
समापन समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै मिडियाकर्मीले खेलकुदमार्फत स्वास्थ्य र भाइचाराको सकारात्मक सन्देश दिएको भन्दै प्रशंसा गरे।
विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको अध्यापन भइरहेको र आगामी शैक्षिक सत्रदेखि फुटसललाई पनि पाठ्यक्रममा समेट्ने योजना रहेको बताउँदै उनले आगामी दिनमा मिडियासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल र बागलुङका अध्यक्ष राम थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी वर्ष यसको दायरा अझ फराकिलो बनाउने र पत्रकारिताको व्यावसायिकता अभिवृद्धि गर्न थप कार्यक्रम आयोजना गर्ने बताए।
प्रतियोगिताबाट आर्जित मुनाफा भोटेकोशी बाढी प्रभावितहरूको राहत एवं हितमा खर्च गरिने उनले जानकारी दिए । पोखरा महानगरपालिका वडा नं. १२ र ’कफी डि हिमालयज’ मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा प्रदेश तथा जिल्ला खेलकुद विकास समिति, विभिन्न वडा कार्यालय, गण्डकी मेडिकल कलेज, सलिको इन्स्योरेन्स लगायत थुप्रै व्यावसायिक तथा सामाजिक संस्थाहरूले सहयोगी र प्रायोजकका रूपमा सहकार्य गरेका थिए।
