
पोखरा । पोखरा महानगरपालिका-२६ विजयपुरमा अवैध रूपमा माटो उत्खनन तथा प्राकृतिक दोहनमा संलग्न रहेको आरोपमा प्रहरीले एक जेसीबी र दुई टिप्पर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बुधबार बिहान करिब ८ः३० बजे विजयपुर क्षेत्रमा अवैध रूपमा प्राकृतिक दोहन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बा.१ क ९३२५ नम्बरको जेसीबी, ग १ ख ७७६६ नम्बरको टिप्पर र बा.२ क २१७७ नम्बरको टिप्पर माटो उत्खनन गरी लोड गरिरहेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले नियन्त्रणमा लिएका तीनवटै सवारीसाधनलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको थियो। महानगरपालिकाले जेसीबीलाई ३० हजार रुपैयाँ र प्रत्येक टिप्परलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरेको प्रहरीले जनाएको छ।
तीनवटै सवारीसाधनबाट गरी कुल ६० हजार रुपैयाँ जरिवाना असुल गरी छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
