
पोखरा । अल्जाइमर रोग कुनै जन्मान्तरको पाप वा सरुवा रोग नभएकाले यसबाट घरपरिवार र समुदाय डराउनु वा बिरामीलाई हेला गर्नु नहुनेमा सरोकारवालाहरूले जोड दिएका छन्। विश्व अल्जाइमर दिवसको अवसरमा आज पोखरामा आयोजित सचेतना कार्यक्रममा बोल्ने वक्ताहरूले ज्येष्ठ नागरिकमा देखिने बिर्सने समस्या (अल्जाइमर) को समयमै पहिचान र हेरचाहका लागि मानव अधिकारका दृष्टिले पनि राज्य र समाज उत्तिकै क्रियाशील हुनुपर्ने बताएका छन्।
पोखरा वृद्धश्रम र गण्डकी ज्येष्ठ नागरिक सङ्घको आयोजना एवं गण्डकी प्रदेशकै पहिलो मानसिक अस्पताल बीजी हस्पिटल एन्ड रिसर्च सेन्टर पोखराको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका मुख्य अतिथि तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा. डा. निर्मल लामिछानेका अनुसार नेपालमा अल्जाइमरसम्बन्धी तथ्याङ्क भरपर्दो नभए पनि विश्वभर यो समस्या डरलाग्दो ढङ्गले बढिरहेको छ।
विश्वव्यापी रूपमा ज्येष्ठ नागरिकहरूमा यो रोगबाट पीडित हुनेको सङ्ख्या करिब १०.५० प्रतिशत पुगेको अनुमान गरिएको डा. लामिछानेले जानकारी दिए। कार्यक्रममा पोखरा महानगर स्तरीय सहरी स्वास्थ्य केन्द्र, नर्सिङ टोली, ज्येष्ठ नागरिक स्याहारकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिक दिवासेवा केन्द्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा वरिष्ठ मनोपरामर्शदाता सम्झना पराजुलीले सहभागीहरूलाई ’अल्जाइमर स्क्रिनिङ टेस्ट’ को महत्त्व तथा मानसिक स्वास्थ्य सचेतनामूलक प्रशिक्षण दिएकी थिइन्।
कार्यक्रममा बोल्दै पोखरा महानगर स्वास्थ्य महाशाखाका उपप्रमुख तेजाखर लम्सालले यस प्रशिक्षणले स्वदेश वा विदेशमा काम गर्न चाहने स्याहारकर्ताहरूका लागि अल्जाइमर रोग र बिरामीको हेरचाहबारे सिक्ने ठूलो अवसर मिलेको बताए। त्यसैगरी, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका पूर्व महासचिव कुसुम केशव पराजुलीले अल्जाइमर रोगको रोकथाम, न्यूनीकरण र प्रचारप्रसारमा सरकारले पर्याप्त ध्यान दिन नसकेको भन्दै ध्यानाकर्षण गराए।
उक्त अवसरमा गण्डकी ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष धर्मबहादुर गुरुङ, पोखरा वृद्धश्रमकी कार्यक्रम उपसंयोजक पार्वती थापा कार्की, सल्लाहकार भेषराज लम्साल तथा पोखरा वडा नं. १७ का वडा प्रतिनिधि शिवराम भण्डारीले अल्जाइमर रोगीको अधिकार र स्याहारबारे समुदायमा सचेतना फैलाउनुपर्नेमा जोड दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
