
काठमाडौं । भारतको उत्तर छत्तीसगढ तथा उत्तर पूर्वी मध्य प्रदेशमा रहेको न्यूनचापीय प्रणाली कमजोर भई उत्तर-उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा रहेकाले नेपालमा वर्षाको प्रभाव बिस्तारै घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार उक्त प्रणाली कमजोर बन्दै गएकाले देशको पूर्वी भू-भागमा मौसम क्रमशः सुधारोन्मुख रहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा यसको प्रभाव बढी देखिनेछ। यद्यपि, नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव अझै यथावत् रहेको महाशाखाले जनाएको छ।
शनिबार दिउँसो देशभर अधिकांश बादल लागी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमतीका पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। तराईका धेरैजसो क्षेत्रमा पनि मध्यम वर्षा हुनसक्नेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम छ। यसका साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णालीका पहाडी क्षेत्र र केही तराईका भू-भागमा हावाहुरी चल्नसक्ने अनुमान गरिएको छ।
यसैगरी शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा अधिकांश बादल लाग्नेछ। हिमाली तथा पहाडी भू-भागमा मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।
