
बागलुङ, ३ पुस-
चार महिनादेखि ग्यासको चरम अभाव व्यहोरिरहेका यहाँका व्यवसायी तथा सर्वसाधारण उपभोक्ता चर्को मूल्यका दाउरा प्रयोग गर्न बाध्य छन् ।
ग्यासको तुलनामा दाउराको प्रयोगले दोब्बर बढी खर्च उठेको होटल तथा रेस्टुराँ व्यवसायी बताउँछन् । बजारमा दाउराको माग बढेपछि बेच्नेहरुले पनि मूल्य बढाउँदै लगेका छन् । सामान्य अवस्थामा चार/पाँच सय रुपैयाँमा पाइने एक भारी दाउरा अहिले बढेर हजार रुपैयाँसम्म पुगेको छ । ग्यास नपाइएपछि महँगो पैसा तिरेर भए पनि दाउराको भर पर्नुपर्ने अवस्था निम्तिएको छ । पाँचसय रुपैयाँको दाउराले दुई दिन मात्र पुग्ने बागलुङ आवारोडमा रहेको सौगात एन्ड सन्देश खाजा घरका सञ्चालक लक्ष्मी शर्मा पौडेलले बताए ।
“एउटा ग्यासले बाह्र/चौध दिन हुन्थ्यो, अहिले छ हजारको दाउराले पनि त्यति दिन धानिदैन”, पौडेलले भने, “दाउराको मूल्य त ग्यासको भन्दा दोब्बर/तेब्बर पुगेको छ ।” पौडेलले पाँचसय रुपैयाँ भारीको दाउरा किनेर खाजाघर सञ्चालन गरिरहेका छन् ।
बिहानै सबेरैदेखि दिनभर चालु रहने खाजाघर भएकाले पनि दाउराको खपत बढी हुने गरेको छ । साधारण उपभोक्ताका लागि भने एक भारी दाउराले दुई सातासम्म चल्ने गरेको बताइन्छ । गाउँमा घर र आफन्त भएकाले गाडीमा दाउरा झिकाएर पनि प्रयोग गर्ने गरेका छन् ।
खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेका बेला ग्यासको सङ्कटले झन् समस्या पारेको होटल व्यवसायी अर्जुन चोखालले बताए । आफूले चलाएको होटल समिटका लागि तीन महिनालाई पुग्ने गरी दाउराको जोहो गरिसकेको उनले उल्लेख गरे ।
“दाउराले झन् व्यवसायीलाई आर्थिक भार थपेको छ, ग्यासको भन्दा बढी खर्च दाउराबाट उठ्छ”, चोखालले भने ।
होटल तथा रेस्टुराँ व्यवसायी सङ्घ बागलुङका अध्यक्ष समेत रहेका चोखालले ग्यास अभावले होटल–रेस्टुराँ व्यवसाय चौपट परेको बताए ।
