
पोखरा । सिद्धार्थ क्लब पोखराले आफ्नो ४१औँ पदस्थापन समारोह सम्पन्न गरेको छ। पोखरा ९, न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्क्वेटको सभाहलमा आयोजित समारोहमा सुनिल श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको हो।
नवनिर्वाचित समितिमा प्रथम उपाध्यक्ष नवराज कुमार गोठाज, द्वितीय उपाध्यक्ष प्रकाशमान श्रेष्ठ, निर्देशक ज्ञानेश्वर राज श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, कोषाध्यक्ष मदन कुमार श्रेष्ठ (मल्मी), सह–सचिव यमुना अधिकारी तिमिल्सिना तथा कार्यसमिति सदस्यहरूमा शशी मर्सानी र वीरेन्द्र बाटाजू निर्वाचित भएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारीले सिद्धार्थ क्लबका सामाजिक गतिविधिहरूको प्रशंसा गर्दै क्लबको सामाजिक कार्यक्षेत्र विस्तारका लागि अनुरोध गरे ।
क्लबका अध्यक्ष देवेन्द्र पराजुलीले आफ्नो कार्यकालमा सक्रिय भई विविध सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको जानकारी गराउँदै नवनिर्वाचित कार्यसमितिको कार्यकालको सफलताको कामना व्यक्त गरे ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मल्मीले वर्तमान समाजमा विभिन्न माध्यमबाट विकृतिहरू मौलाइरहेकाले तिनको समाधानका लागि संघ-संस्थाहरू अग्रसर हुनुपर्ने आवश्यकतामा जोड दिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमले पोखराको सामाजिक छवि उच्च राख्न सिद्धार्थ क्लबसँगको सहकार्यलाई अझ मजबुत बनाउन तत्पर रहेको बताइन् ।
बगालेटोल टोल विकास संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले सिद्धार्थ क्लबसँग हातेमालो गर्दै वरपरका क्षेत्रमा सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न टोल विकास संस्था इच्छुक रहेको भनाइ राखिन् ।
समारोहमा ’सिद्धार्थ आवाज’ बुलेटिन विमोचन गरिनुका साथै कार्यक्रम संयोजक तथा सहयोगी दाताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सोही अवसरमा शैक्षिक सत्र २०८२ को एसईई परीक्षा उत्तीर्ण क्लब सदस्यका छोराछोरी तथा बाल शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरियो।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुनिल श्रेष्ठ तथा उनको परिवारले स्वर्गीय पिता डिलबहादुर श्रेष्ठको स्मृतिमा क्लबको बाल शैक्षिक कार्यक्रमका लागि २ लाख (दुई लाख रुपैयाँ) को अक्षयकोष स्थापना गरेका छन् ।
साथै, समाजसेवी विनोद केसीले आफ्नो शुभजन्मदिनको अवसरमा सोही कोष अभिवृद्धिका लागि २५ हजार (पच्चीस हजार रुपैयाँ) हस्तान्तरण गरे ।
पूर्व अध्यक्ष रवि मर्सानीले सञ्चालन गरेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पदस्थापन कार्यक्रमका संयोजक इन्दिरा मर्सानी श्रेष्ठले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए ।
