‘अपरेसन ३६५’ अन्तर्गत पोखराबाट थप ११ मोटरसाइकल नियन्त्रणमा

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकामा ध्वनी प्रदूषण र नियमविपरीत स्वरुप परिवर्तन (मोडिफाई) गरेर चलाइने सवारी साधनविरुद्ध ‘अपरेसन ३६५’ तीव्र पारेको छ।

यही अभियानअन्तर्गत १६ गते राति कास्कीका विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिइएका छन्। प्रस्तुत छ, यसै विषयमा केन्द्रित भई गरिएको कुराकानीको सम्पादित अंशः

प्रश्नः ‘अपरेसन ३६५’ अभियानअन्तर्गत पछिल्लो पटक प्रहरीले कस्ता सवारी साधनहरूमाथि कारबाही अघि बढाएको छ ?

प्रहरीः कास्की प्रहरीले सर्वसाधारणको शान्ति–सुरक्षा र ध्वनि प्रदूषणलाई ध्यानमा राख्दै यो अभियान निरन्तर सञ्चालन गरिरहेको छ।

असोज १६ गते रातिको समयमा पोखरा महानगरपालिकाका विभिन्न संवेदनशील स्थानहरूमा विशेष चेकजाँच गर्दा स्वरुप परिवर्तन गरी तीव्र आवाज र ध्वनि प्रदूषण गर्ने थप ११ वटा मोटरसाइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ।

प्रश्नः यी ११ वटा मोटरसाइकलहरू पोखराका कुन-कुन क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्?

प्रहरीः जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका विभिन्न वृत्त र प्रहरी कार्यालयहरूको संयुक्त टोली परिचालन गरिएको थियो। जसअन्तर्गत इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले तालचोक क्षेत्रबाट ७ वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड र राष्ट्रबैंकचोक क्षेत्रबाट १ वटा, वडा प्रहरी कार्यालय बगरको टोलीले नदीपुर क्षेत्रबाट १ वटा र वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक क्षेत्रबाट २ वटा गरी जम्मा ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएका हुन्।

प्रश्नः हालसम्म यस अभियानबाट कत्तिको प्रभावकारिता देखिएको छ र कुल कति सवारी तथा मानिसहरू कारबाहीमा परेका छन्?

प्रहरीः यो अभियान सुरु भएयता सवारी नियम उल्लङ्घन गर्ने र अवाञ्छित गतिविधिमा संलग्न हुनेहरूमाथि कडा निगरानी राखिएको छ।

हालसम्मको तथ्याङ्क अनुसार ‘अपरेसन ३६५’ अन्तर्गत जम्मा ८८२ वटा सवारी साधनहरू र विभिन्न कसुरमा संलग्न ३६ जना मानिसहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याएर कारबाही गरिसकिएको छ।

सर्वसाधारणलाई सास्ती दिने र नियम मिच्ने जोकोहीमाथि प्रहरीको यो कारबाही निरन्तर जारी रहनेछ।

कमेन्ट गर्नुहोस्
Share: