
पोखरा । पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा पाइला फाउण्डेसनसँगको सहकार्यमा चार दिने पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ४ देखि ९ कक्षासम्मका विद्यार्थीहरूले आफ्नो पाठ्यपुस्तक बाहेक आफूले अध्ययन गरेका विभिन्न साहित्यिक कृतिहरूमध्ये आफूलाई उत्कृष्ट लागेको पुस्तकमाथि विद्यार्थीहरूले आफ्ना विचार व्यक्त गरेका थिए ।
गत मंगलवारदेखि सुरु भएको पुस्तक परिचर्चा कार्यक्रम चार दिनसम्म विद्यालयमा सञ्चालन गरिएको थियो । शुक्रबारको समापन समारोह विद्यालयका सह प्राचार्य मुकेश कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थीले पढेका कुरालाई आफ्ना अभिभावकहरूको उपस्थितिमा नै पुस्तकको विभिन्न पक्षका बारेमा निकै सुन्दर शैलीमा परिचर्चा गरेका थिए।
पाइला फाउण्डेसनका सि.ई.ओ.नरेन्द्र कुमार नगरकोटीले फाउन्डेसनले अहिले नेपालको विभिन्न ठाउँमा पठन संस्कृतिको क्षेत्रमा काम गर्दै आइरहेको बताए।पोखराको पनि विभिन्न विद्यालयहरूमा यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी गराए।
आफ्ना छोराछोरीको प्रस्तुति हेर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया अभिभावक प्रमिला पालिखेले व्यक्त गरे । विद्यार्थीमा आफूले पढेका कुरालाई बाहिर व्यक्त गर्दा उनीहरुमा वाक्कलाको विकासमा टेवा पुग्ने हुनाले विगतदेखि नै विद्यालयमा पुस्तक परिचर्चा कार्यक्रम सञ्चालन गरिँदै आएको र यस अवधिभर जम्मा ११४ जना विद्यार्थीले विभिन्न पुस्तकमाथि आफ्नो धारणा व्यक्त गरेको कुरा कार्यक्रम संयोजक शिक्षक सुरेन्द्र सदिच्छाले बताए ।
