
नवराज ढुङ्गाना-पोखरा, ३ पुस,
पोखरा उपमहानगरपालिकाले सुधारका लागि ३३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । उप महानगरपालिकान कार्यालयले आज पत्रकार सम्मेलन गरी नगरपालिकाको काम कार्वाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि कार्ययोजना सार्वजनिक गरेको हो ।
कार्ययोजनामा बिशेषगरी नगरपालिकामा लामो समयदेखि रहेको ठूलो मात्राको पेश्की फछ्यौट शून्यमा झार्ने र नगरपालिकालाई सूचना तथा प्रविधिमैत्री बनाउने उल्लेख गरिएको छ ।
यस्तै, थप भएका नयाँ वडा कार्यालयहरुबाटै एकीकृत सम्पत्ति कर संकलन गर्ने व्यवस्था मिलाईने, उप महानगरपालिकाका सबै घर तथा जग्गाको डिजिटल नक्सा बनाई नक्सा पास कार्यलाई समेत विद्युतीय प्रणाीमा लैजाने, प्रत्येक शाखाको क्षतिपूर्तीसहितको नागरिक वडापत्र तयार गरी लागू गर्ने, उजुरी परेको ३ घण्टाभित्रै छानविन गरी क्षतिपूर्तीको व्यवस्था मिलाउने लगायतका बुँदा कार्ययोजनामा समेटिएको कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए ।
यस्तै, यसअघि नै तय भएको प्लाष्टिक मुक्त शहरको नारालाई यथार्थमा परिणत गर्ने, ३ महिनाभित्रै प्लाष्टिक झोलामुक्त घोषणा गरिने, छाडा चौपाय व्यवस्थापनका लागि काञ्जि हाउस निर्माण गर्ने, गुनासो व्यवस्थालाई प्रभावकारी बनाउन टोल फ्रि नम्बरको व्यवस्था गर्ने लगायतका बुँदा समेत कार्ययोजनामा समेटिएको कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।
कार्ययोजना आजैदेखि लागू गरिएको र लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने उनले बताए ।
