आज कुन कुन प्रदेशमा हुनेछ वर्षा ?

Share:

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा तथा कर्णाली  र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ । विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

देशको हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।  पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको थोरै स्थानमा तथा मधेसलगायत कोसी, वाग्मती, गण्डकी प्रदेशको तराई भूभागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।

विभागका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ । कोसी, मधेस, वाग्मती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव छ ।

कमेन्ट गर्नुहोस्
Share: