
पोखरा। कास्की जिल्ला कारागारबाट फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। सहकारी ठगी सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका पोखरा महानगरपालिका वडा नं. २९, पटनेरी निवासी ४५ वर्षका उत्तम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनी गत २०८२ भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा कारागारबाट फरार भएका थिए।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा मगरलाई असोज १८ गते ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४, सानोगाउँबाट पक्राउ गरेको हो। पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि पुनः कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
