
नुवाकोट, ५ पुस : भूकम्पले क्षति पुर्याएपछि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयले दुई महिनामा २३ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । भूकम्पले क्षति पुर्याएपछि गएको असोज २८ गते देखि सञ्चालनमा आएको नाकाले दुई महिनाको अवधिमा करिब २४ करोड रुपैयाँ संकलन गरेको हो ।
२०७१ मंसिरदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयलाई बैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि लामो समयसम्म अबरुद्ध भएको थियो ।
भारतले लगाएको नाकाबन्दीको कारण चीनसँगको व्यापारिक नाकाको रुपमा सरकारले रसुवागढी नाकालाई गएको असोज २८ गते सञ्चालनमा ल्याएको थियो । नाका सञ्चालनमा आएलगत्तै पुनः एक साता अबरुद्ध भएको थियो । नियमित सञ्चालनमा आएको दुई महिनामा भूकम्पले क्षति पुर्याएपछि भारतले गरेको अघोषित नाकाबन्दीको कारण चीनबाट इन्धन भित्र्याउन रसुवागढी नाकाको प्रयोगले राजश्व संकलन अपेक्षाकृत भन्दा बढी भएकोे प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिए ।
नाका सञ्चलानमा आएपनि तत्कालको लागि सडक मार्ग अप्ठेरो रहेको र भौतिक संरचना पर्याप्त नहुदाँ राजश्व संकलनको गतिले तिव्रता नपाएको प्रमुख भन्सार अधिकृत पनेरुले बताए ।
भारतले गरेको नाकाबन्दी मुलुकमा अन्तरािष्ट्रय सञ्चालित नाकाको रुपमा अहिले पनि एक मात्र नाकाको रुपमा रसुवागढी नाका मात्र सञ्चालनमा रहेको छ । चीनसंग जोड्ने मुख्य नाका सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पले अबरुद्ध पछि अझै सञ्चालनमा कठिनाई रहदै आउदा चिनियाँ सामाग्रि आयतको लागि दैनिक एक सय भन्दा बढी कन्टेनर अहिले रसुवागढी नाकामात्र सामाग्रि आयत–निर्यात गर्दै आएका छन् ।
