किराँत समुदाय उधौली पर्व मनाउँदै

Share:

काठमाडौं, पुस १० । किराँत समुदायले आज आफ्नो महान पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि शुरु हुने उधौली पर्व मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेसितिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाईन्छ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला वैशाखपूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किरात राईहरुले साकेला, साकेन्वा, किरात याख्याहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्छन् ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले किरात जातिको महान पर्व उधौलीका अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् । उनले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउनुका साथै सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने उल्लेख गरेकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उधौलीका अवसरमा शुभकामना व्यक्त गर्दै मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निम्ति एकताबद्ध भएर अघि बढ्न उधौली पर्वले सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: