
रञ्जन अधिकारी पोखरा, १० पुस / नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको सरकार आफै ढल्ने ठोकुवा गर्नुभएको छ ।‘यो सरकारलाई कसैले ढाल्न पर्दैन,’उहाँले भन्नुभयो,‘ सरकारकै क्रियाकलापले आफै ढल्छ, हामीले ढाल्न खोजेका पनि छैनौं ।’
लोकतान्त्रीक छापा माध्यम राष्ट्रिय समाजको पश्चिमाञ्चल क्षेत्रीय भेलाको उद्घाटन गर्दै आज पोखरामा पौडेलले संविधान उलंघन गरेर मन्त्रालय थप्ने सरकारो आयु लामो नभएको जिकिर गर्नुभयो ।‘संविधानको व्यवस्थालाई लत्याएर २८ मन्त्रालय बनाइएको छ,’उहाँले भन्नुभयो, ‘संविधान प्रतिको निष्ठा देखाउनुपर्नेमा त्यस विपरित मन्त्रालय फुटाएर मन्त्री थप्ने क्रियाकलाप गलत छ,यो सरकार लामो समय टिक्दैन।’ भुकम्पबाट प्रभावित जनताले टिन पाउन नसकेको अवस्थामा राज्यलाइ अरवौ ब्यभार पर्ने गरि मन्त्रालय फुटाएर मन्त्री थप्नु उचित नभएको भनाई उहाँको छ।
पौडेलले मधेशीको नारा लगाउँदैमा मधेशीको हित नहुने समेत बताउनुभयो। उहाँले मधेशका नामा गरिएको आन्दोनले मधेशी जनतालाई नै पीडित भएको बताउदै वार्ता र सम्वादका माध्यमबाट समाधान निकाल्नुपर्ने बताउनु भयो ।‘तराईमा गरिवी र पछौटेपन कायम रहेको बताउदै आन्दोलनले थप दुःख र कष्ट भएको छ, उहाँले भन्नुभयो, ‘हिमाल, पहाड र तराईले एक अर्काको दुःख बुझनु पर्दछ ।’काँग्रेसले मधेशलाई उपेक्षा नगरेको स्पष्ट पादै उहँले समेट्न नसकिएका विषयलाई सम्वोधन गर्न तयार रहेको बताउनुभयो । उहाँले वार्ताबाटै समस्याको समाधान खोजि गर्नुपर्ने र त्यही भएर मधेशी मोर्चा र काँग्रेस वीचको वार्ता जारी रहेको जानकारी दिनुभयो ।
उहाँले मधेशका माग सम्वोेधन गर्न काँग्रेस लागि रहेको बताउदै मधेशी दलहरुसंग वाता र सम्वाद भइहेको जानकारी दिनुभयो ।पौडेलले मधेश नेपाली काँग्रेसको आधारभुमि रहेको बताउँदै मधेशको भावनालाई बुझेर सरकारमा सहभागि नभएको दावी गर्नुभयो ।मधेश काँग्रेसको आधारभुमी भएकोले डटेर केपी ओलीसंग प्रतिस्पर्धा गरेको भनाई उहाँको छ।उहाँले मधेशी मोर्चाले उठाएको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशीता लगायतका माग संविधानमा उल्लेख रहेको बताउदै नमिलेका कुरालाई संविधान संशोधन गरेर जान तयार रहेको बताउनुभयो । नेता पौडेलले काँग्रेसको १३ औं महाविधेशनको प्रसंग कोट्याउँदै पार्टी नयाँ जीवन दिएर अगाडि बढ्न आफु तयार रहेको बताउनुभयो।
समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष रेमश विष्ट, समाजका मध्यमाञ्चल उपाध्यक्ष दिपेन्द्र चौहान, प्रेस यूनियनका केन्द्रीय सल्लाहार शिव लम्साल, प्रेस यूनियन पश्चिमाञ्चल उपाध्यक्ष रमेश पौडेल लगायतले बोल्नुभएको थियो ।
यसैवीच कार्यक्रममा गण्डकीबाट अग्रज पत्रकार केशराज पराजुली, धौलागिरीबाट जगन्नाथ आचार्य, लुम्विनिबाट मिनबहादुर रिजालाई सम्मान गरिएको थियो ।पत्रकारीताको माध्यमबाट लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको हो । काँग्रेस उपसभापति पौडेलले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।
