काठमाण्डौं,१३ पुस।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याणको कामना गर्दै सोमवार पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएकी छन् ।
मुलुकमा भइरहेको संकटमुक्तिको कामना गर्दै राष्ट्रपति भण्डारीले विहान साढे ९ बजे विशेष पूजा गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले जानकारी दिए ।
पशुपतिनाथको मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी मूल मन्दिर र वासुकीनाथ मन्दिरमा पनि विशेष पूजाको कार्यक्रम तय भएको सदस्यसचिव डा.टन्डनले बताए । राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर परिसरमा पुगेपछि नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचन र स्थानीयवासीले धिमेबाजा तथा बाँसुरी वादनले उहाँको स्वागत गर्ने कार्यक्रम कोषले तय गरेको छ ।
पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घन्टा पशुपतिनाथ मन्दिर परिसरमा बिताउनेछिन् ।
