दोलखामा मात्रै चिसोले कठ्यांग्रिएर १३ जनाको मृत्यु

Share:

पुस १३ गते-
दोलखा जिल्लामा चिसोबाट मृत्यु हुने भूकम्प प्रभावित वृद्धवृद्धाको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । विभिन्न गाविसमा गरी आज थप पाँच जनाको चिसोका कारण मृत्यु भएको छ ।

भूकम्पले घर भत्किएपछि जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुने क्रम पछिल्ला दिन बढ्दै गएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण बिरामी परी मृत्यु भएको हो ।

यसअघि भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेकोे बताए ।

कमेन्ट गर्नुहोस्
Share: