‘कालाबजारी गर्ने व्यवसायी होईनन्, गैरव्यवसायी हुन्: थापा, अधिकृत विक्रेताको अध्यक्षमा पुनः अधिकारी

Share:

रञ्जन अधिकारी पोखरा, १८ पुस / भारतीय अघोषित नाकाबन्दीका कारण मुलुकमा असहज परिस्थिति उत्पन्न भएका बेला व्यापारी व्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरेको, दोब्बर बढि मुल्य वृद्धि, कालाबजारी गरेको आरोप लागेको छ । तर, यो आरोप गलत भएको भन्दै यहाँ स्थित उद्योगी व्यवसायीले खण्डन गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले यसको खण्डन गरे । अधिकृत बिक्रेता संघ, पोखराको पाँचौ महाधिवेशन तथा नवौं वार्षिक साधारणसभाको शनिबार उद्घाटन सत्रमा बोल्नै उनीहरुले व्यवसायीहरुले यस्तो हर्कत नगरेको जिकिर गरेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष थापाले कालाबजारीयका रुपमा व्यवसायीहरुलाई कालो टीका लगाउने काम भएको भन्दै कालाबजारी गरेर गैरव्यवसायीले कमाएको उल्लेख गरे । ‘जसले कृत्रिम भण्डार गरेको छ । कालाबजारी गरेको छ उनीहरु सबै गैरव्यवसायी हुन् ।’ थापाले भने– ‘ग्याँस व्यवसायीले कहिल्यै, डिलरले कहिल्यै कालाबजारी गरेका छैनन् । यातायात व्यवसायका ड्राईभर खलासीले गरेका हुन् ।’ उनले तराई क्षेत्रमा पाँच देखि ५० लाख सम्म कमाएको समाचार पढेको भन्दै यो नियन्त्रण गर्ने काम सरकारको भएको बताए । उनले बढि मुल्यमा व्यवसायीले सामान नबेचेको समेत जिकिर गरे ।

थापाले वस्तुगत संघ अन्तर्गतका व्यवसायी लगायत सबैको सक्रियतामा लामो समयपछि विधान संशोधन गर्न सफल भएको जनाउँदै व्यवसायिक एकता यस्तै रहिरहोस् भन्ने कामना गरे । पोखरामा खानेपानी अत्यन्त अशुद्ध रहेको अवस्थामा जापान सरकारको जाईकाको सहयोगमा तीन अर्बको परियोजनाले पोखरामा २० वर्षसम्म चौबिसै घण्टा खानेपानी आउने र शुद्धताका लागि तीन ठाउँमा स्थान छनौट भईसकेको बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष त्रिपाठीले यो असहज परिस्थितिमा पनि सामान ल्याएर विक्री गरेकाले व्यवसायीलाई धन्यवाद दिनुपर्ने बताए । ‘यो अवस्थामा पनि हामीले देशको अवस्था बुझयौं, झण्डा लिएर सडकमा निस्केनौं ।’ त्रिपाठीले भने– ‘तेल २ सयदेखि ५ सयमा बेच्ने, ग्याँस आठ देखि १० हजारमा बेच्ने व्यवसायी होईन, अरु हुन् ।’ उनले उद्योग वाणिज्य संघको लागि वस्तुगत संघ पिल्लर भएको भन्दै लेखनाथ क्षेत्रका वस्तुगत व्यवसायीलाई पनि इकाईका रुपमा स्वीकारेर गोलबन्द गरिदिन आग्रह गरे । त्रिपाठीले प्रदेश नं. ४ को औद्योगिक क्षेत्र लेखनाथमा बन्ने सरकारको योजना रहेकोमा अहिले केहि तत्वहरुले स्थानीयलाई उचालेर भ्रम छर्ने काम गरेको भन्दै आफु उचित मुआब्जा र सुकुम्बासी व्यवस्थापनमा गम्भीर बनेको प्रष्ट पारे ।

सो अवसरमा आर्थिक सल्लाहकार डा. बेदनाथ शर्मा, पोखरा उद्योग वाणिज्य संघका प्रकाशदेव पालिखे, पोउवासंघकै पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचन, सिटी रेवानका अध्यक्ष केपी शर्मा, पोखरा कस्मेटिक्स व्यवसायी संघका विष्णुप्रसाद बास्तोला, कास्की पोखरा हस्तकला संघकी हिरा भट्टराई, फेन्सी तथा रेडिमेड व्यवसायी संघका गिरिधारी अधिकारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्कीका शिव बास्तोला, औषधि व्यवसायी संघ, कास्कीका यमनाथ पौडेल, बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका तर्फबाट बलराम गौतम, नेपाल घरेलु तथा साना उद्योग महासंघ, कास्कीका माधवप्रसाद पराजुली, पश्चिमाञ्चल अटोमोबाईल्स डिलर्स एशोसियसनका माधव पौडेल, पृथ्वी होटल व्यवसायी संघ, पोखराका कमलप्रसाद न्यौपाने, सुनचाँदी व्यवसायी संघका चन्द्रकिशोर गौतम, पोखरा स्टील फेब्रिकेटर्स एशोसियसनका यामप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, मदिरा व्यवसायी संघ, पोखराका तारा ढुंगानाले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका संघका अध्यक्ष सुरेश अधिकारीले वस्तुगत व्यवसायीको हकहितका सवालमा आफु सदैव अडिग भएर लागिपरेको बताए । बन्दसत्रमा महासचिव अनिल श्रेष्ठले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मनोजकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अनिल श्रेष्ठ र धन्यवाद ज्ञापन उपाध्यक्ष हरिराज पन्तले गरेका थिए ।

अध्यक्षमा पुनः अधिकारी

अधिकृत बिक्रेता संघ, पोखराको अध्यक्षमा पुनः सुरेश अधिकारी चयन भएका छन् । संघको पोखरामा शनिबार भएको पाँचौ महाधिवेशन तथा नवौं वार्षिक साधारणसभाले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा हरिराज पन्त, उपाध्यक्षमा अनिल श्रेष्ठ, महासचिवमा होमबहादुर राई, उपसचिवमा मनोज श्रेष्ठ, कोषाधयक्षमा रुपनारायण भुजेल, सहकोषाध्यक्षमा तेजेन्द्र पौडेल तथा सदस्यहरुमा लक्ष्मी पौडेल, देवन्सन प्रजु, खेम गुरुङ, दिलिपकुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ र तारानाथ ढुंगाना चयन भएका छन् । निवर्तमान अध्यक्षमा रुद्र मल्ल छन् ।

कमेन्ट गर्नुहोस्
Share: