
दाङ, २६ पुस-
एकीकृत (नेकपा) माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु काठमाडौं फर्किएलगत्तै मधेसी मोर्चासँग निर्णायक वार्ता गरेर समस्याको टुङ्गो लगाउने बताएका छन् ।
दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले आज घोराहीमा गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूहरुले निर्णायक वार्ता गर्ने र अबको दुई÷तीन दिनमा नै नाकाबन्दी र मधेस समस्या समाधान हुने बताए ।
संविधान निर्माणसँगै नेपाल र नेपालीले भोग्नुपरेको समस्याबाट पाठ सिकेर देश अगाडि बढ्ने उनको भनाइ थियो ।
विसं २०७२ लाई असाधारण वर्ष भन्दै उनले यो वर्ष भोग्नुपरेका समस्यालाई अवसरको रुपमा लिएर अगाडि बढ्न आवश्यक भएको बताए ।
अध्यक्ष दाहालले देश अब आत्मनिर्भर बन्न आवश्यक भएको पनि बताए ।
उद्योग वाणिज्य सङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री दाहालले दाङ प्रादेशिक राजधानी बनाउने विषयमा आफू लागिपरेको बताए ।
उद्योग वाणिज्य सङ्घले निर्माण गर्न लागेको बहुउद्देश्य सभागृह निर्माणका लागि बजेट विनियोजन गरिने उनले आश्वासन दिए ।
