रञ्जन अधिकारी पोखरा, १२ जेठ । पोखरा ८ का महिलाहरुका लागि तीन दिने संस्थागत क्षमता विकास सम्बन्धी तालिम सोमबारदेखि सुरु भएको छ । भवानी आमा समूह, कुँवरटोलको संयोजन तथा पोखरा उपमहनगरपालिकाको सहयोगमा संचालित सो तालिमको पोउमनपा कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले उद्घाटन गरे ।
जेठ १४ गतेसम्म संचालन हुने तालिमको पहिलो दिन पोखरा उपमहानगरपालिका कार्यालयका सामाजिक शाखा अधिकृत ओमराज पौडेलले संस्थाका पदाधिकारीलाई पदीय जिम्मेवारीमा रहेर कसरी कुशल ढंगल काम गर्ने बारेमा प्रशिक्षण दिए । दोस्रो दिन मंगलबार कार्यालयकै शहरी गरीवि न्यूनिकरण शाखा अधिकृत दुर्गा न्यौपानेले नेतृत्व तथा क्षमता विकास र तेस्रो दिन बुधबार नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेलले संस्थागत विकासका लागि आधारशीलता सम्बन्धी प्रशिक्षण दिनेछिन् ।
कार्यकारी अधिकृत अधिकारीले महिला सशक्तिकरणका लागि नगरपालिकाले हरेक वडालाई रकम छुट्याउँदै आएको र महिलाहरुलाई थप सहयोग आवश्यक परेमा आफू सदैव तयार रहने बताए । उनले विनियोजित रकमको सही सदुपयोग गर्दै महिलाहरु आÇनो क्षमता अभिवृद्धिमा अग्रसर रहन आग्रह पनि गरे ।
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा पत्रकारिताको माध्यमबाट सहयोग गर्न आफू सदैव सकारात्मक रहेको बताए ।
नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सुष्मा पौडेल, नेपाली काँग्रेसका सानो टेकन गिरी, नेकपा एमालेका गणेशमान गुरुङ, एमाओवादीका दामु सिग्देल, आदर्श समाज राष्ट्रिय दैनिककी व्यवस्थापक दुर्गादेवी बास्तोला, जनप्रिय उच्च माविका प्राचार्य नारायणप्रसाद पराजुली, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ८ की अध्यक्ष शारदा गिरी, उपाध्यक्ष शारदा सुवेदी लगायतले बोलेका थिए ।
भवानी आमा समूहकी अध्यक्ष एवं तालिम संयोजक श्रीमाया कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वडा समन्वय समितिकी उपाध्यक्ष पार्वती पौडेलले स्वागत र आमा मिलन केन्द्रकी अध्यक्ष ईन्दिरा पौडेलले सञ्चालन गरेकी थिईन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य पदमा हालै निर्वाचित सुष्मा पौडेललाई सम्मान पनि गरिएको थियो । तालिम टोल विकास समन्वय समिति पोखरा ८, नागरी परोपकार केन्द्र, आमा मिलन केन्द्र, जाल्पादेवी महिला उद्धार समूह, शिवालय आमा समूह, पारालिगल कमिटि, सम्झौता नागरी जागृति समूह, प्रगतिशिल नारी समूह, न्यूरोड महिला उद्धार समूह, रामकृष्ण आमा समूहको सहआयोजनामा भएको हो ।
