माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि सागको फाइनलमा, नाटकीय खेलमा नवयुगको हृयाट्रिक

Share:

फाल्गुन १ / नाटकीय खेलमा माल्दिभ्सलाई ४-३ ले हराउँदै नेपाल १७ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा प्रवेश गरेको छ ।
शनिबार इन्दिरा गान्धी स्टेडियममा माल्दिभ्सको यू-२३ टिमललाई ४-३ ले हराउँदै दुई पटकको स्वर्ण पदक विजेता नेपाल यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ । खेलमा नवयुग श्रेष्ठले हृयाट्रिक गरे । अतिरिक्त खेलमा ३-२ ले पछाडि परेको नेपाललाई अन्तिम दुई मिनेटमा नवयुगको गोलले ऐतिहासिक राहत दिलायो ।

भूटानविरुद्ध समूहचरणको खेलमा पनि नवयुगले हृयाट्रिक गरेका थिए । अब नेपालले फाइनलमा स्वर्ण पदकको लागि घरेलु टिम भारतको सामना गर्ने छ । भारतले बंगलादेशलाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ । फाइनल प्रवेश गरेसँगै नेपालको कम्तिमा पनि रजत पदक पक्का भएको छ ।
उसले त नेपालले बङबन्धु कपको फाइनल यात्रा तय गर्ने क्रममा पनि नेपालले माल्दिभ्सलाई नै हराएको थियो । र, उक्त खेलमा पनि नवयुगले हृयाटि्रक गरेका थिए ।

गुवाहटीमा भएको खेलमा नेपालले १५ औं मिनेटमा अन्जन विष्टको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा उत्कृष्ट फुटबल खेलेको नेपालले ३६ औं मिनेटमा नवयुगको गोलबाट अग्रता दोब्बर पार्यो ।

तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औं मिनेटमा माल्दिभ्सका मोहम्मद हम्जाले गोल गरे । ६५ औं मिनेटमा नेपाललाई ठूलो धक्का लाग्यो । कमल श्रेष्ठ दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड पाएर मैदानबाट बाहिरिए । त्यसको माल्दिभ्सले फाइदा उठायो र नेपाललाई लगातार दबाबमा राख्यो ।

८५ औं मिनेटमा नासिदले बराबरी गोल फर्काए । खेलमा थप गोल भएन र अतिरिक्त समयमा धकेलियो । ११५ औं मिनेटमा हसन जइजले गोल गर्दै माल्दिभ्सलाई ३-२ अग्रता दिलाए । तर, अन्तिम दुई मिनेटमा नेपालले दुई गोल फर्काउँदै नाटकीय जित हात पारेको छ ।

खेलको अन्तिम मिनेटमा नवयुगले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा जाने धेरैको अनुमान थियो । तर, खेल सकिन केही सेकेन्ड मात्र बाँकी छँदा नवयुगले हृयाटि्रक पुरा गरे र नेपाल विजयी भएको छ । नेपालले १९८४ र १९९३ मा साफ गेम्सको फुटबलमा स्वर्ण पदक जितेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: