केन्द्रीय ईक्यानको महासचिव पदमा कास्कीबाट महेश भण्डारीको उम्मेदवारी

Share:

 रेम बिक पोखरा, ९ फागुन ।

नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) केन्द्रको आसन्न अधिवेशन अन्तरगत महासचिव पदको लागि महेश भण्डारीले उम्मेदवारी दिने भएका छन् । ईक्यान कास्कीको अध्यक्ष भण्डारीले फागुन १५ गते हुने केन्द्रिय अधिवेशनका लागि उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका सरोजकुुमार बस्नेतको प्यालन अन्तरगत रहेर भण्डारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेको जानकारी दिए । महासचिव पदमा भण्डारीसँगै प्रकाश पाण्डे प्यानल मानिने सन्तोष प्याकुरेलले पनि भिड्दैछन् ।   ‘व्यवसायिक प्यानलको साथमा मैले पनि आफ्नो उम्मेदवारी घोषणा गरेको छु । र, मलाई कास्की ईक्यान सहित काठमाण्डौका प्रोफेशनल समुहको सम्पूर्ण रुपमा साथ मिलेको छ ।’ केन्द्रमा आफ्नो उम्मेदवारी घोषणाको बारेमा भण्डारीले भने–‘महासचिव पद भनेको संस्थाको प्रवक्ता हो । र, पब्लिक कनेक्सन र रिलेशनको सवालमा मैले संस्थाको हितका लागि सँधै तत्परता देखाउनेछु ।’

१३ वर्ष यता पोखरामा रहेर शैक्षिक परामर्श दिने संस्था ‘किंग्स ईन्स्टिच्यूट’ संचालन गर्दै आएका भण्डारी सफल संचार उद्यमी समेत हुन् । उनले  पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएम पनि संचालन गर्दै आएका छन् ।   संचार क्षेत्रमा रहेर लामो समय काम गरेको हिसाबले पनि भण्डारी ईक्यानको महासचिव पदका लागि फिट उम्मेदवार भएको भन्दै सबैको साथ उनीमाथि रहेको ईक्यान कास्कीले जनाएको छ । ईक्यानको ईतिहासमै काठमाण्डौ बाहिरबाट संस्थाको महासचिव जस्तो पदमा उम्मेदवारी दिने  भण्डारी पहिलो व्यक्ति हुन् । त्यसैले मोफसलका शैक्षिक परामर्शदाताहरुको सपोर्ट उनलाई विशेष रुपमा रहेको छ ।

ईक्यान कास्कीको नेतृत्वमा रहेर संस्थाको विकासका लागि निरन्तर भुमिका खेल्दै आएका भण्डारी गैरराजनीतिक छविका  कारणले पनि सदस्यहरुमाझ प्रिय छन् । महासचिव भएर संस्थालाई अझै बढि प्रभावकारी बनाउन आफ्नो तर्फबाट कुनै पनि हालतको भुमिका खेल्ने उनले प्रतिबद्धता जनाएका छन् ।

भण्डारीसँगै कास्की ईक्यानबाट केन्द्रमा उम्मेदवारी दिने अर्का व्यक्ति हुन् रमेशकुमार थापा । लामो समय यता शैक्षिक परामर्शको क्षेत्रमा बिताईसकेका थापाले केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् । उनी पनि भण्डारीकै प्यानलबाट अधिवेशनमा सहभागिता जनाउँदैछन् । थापा यसअघि ईक्यान कास्कीका सल्लाहकार रहिसकेका छन्  । हरेक २ वर्षमा हुने ईक्यानको अधिवेशन यो पटक काठमाण्डौमा फागुन १५ गते हुँदैछ । देशभरका २ सय ७९ भन्दा बढि सदस्यहरुले अधिवेशनमा सहभागिता जनाउँदैछन् ।

 

कमेन्ट गर्नुहोस्
Share: