
काठमाडौं, ३० फागुन-
बैंक लकरमा गोली भेटिएपछि सांसद ल्हारक्याल लामा सांसद पदबाट निलम्वित भएका छन् ।
फौजदारी अभियोग लाग्नासाथ सांसद पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ ।
लामालाई ५ दिन थुनामा राख्न प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । लामाको लकरमा १४ राउण्ड गोली भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी वरिष्ठ उपरिक्षक विक्रमसिंह थापाले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल इन्भेष्टमेन्ट बैंक दरबारमार्गमा रहेको लामाको लकर खोल्दा सुनचाँदी राख्ने ठाउँमा गोली भेटिएको थियो । लकर खोल्न अख्तियारको टोलीसँगै बैंक पुगेका लामालाई गोली भेटिएपछि प्रहरीले त्यहिँ पक्रेको हो ।
