पोखरामा साहित्यकार जगदीश घिमिरेको सम्झना

Share:

पोखरा, जेठ २१ गते । प्रसिद्ध साहित्यकार स्वर्गीय जगदीश घिमिरेको सम्झनामा उहाँकी श्रीमती दुर्गा घिमिरेले लेख्नुभएको पुस्तक ‘उनको सम्झना’को बुधबार पोखरामा परिचर्चा गरिएको छ ।

¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको सहयोगमा सम्मोहन साहित्यिक पत्रिकाले आयोजना गरेको कार्यक्रममा लेखकीय अनुभव सुनाउँदै लेखिका घिमिरेले मदन पुरस्कार प्राप्त कृति ‘अन्तर्मनको यात्रा’मा लेखक आफ्ना पति जगदीश घिमिरेले छुटाउनुभएका कतिपय प्रसङ्ग आफूले समेटेको बताउनुभयो । जगदीश घिमिरेसँग २९ वर्षसम्म सहयात्रा गर्दाका अनुभवलाई कुनै पनि दर्शन वा सिद्धान्तको बन्धनबाट मुक्त भएर आफूले किताबमा लेखेको बताउँदै घिमिरेले लेख्दालेख्दै जहाँ कलम रोकियो त्यहीँ छोडेको बताउनुभयो ।

किताबमाथि परिचर्चा गर्दै कवि तीर्थ श्रेष्ठले ‘उनको सम्झना’मा दुर्गाले दाम्पत्य जीवनको सिङ्गो र सिर्जनात्मक सौन्दर्य प्रस्तुत गर्नुभएको बताउनुभयो । समाज परिवर्तनको आकाङ्क्षालाई घिमिरे दम्पतीले राजनीतिबाट सम्भव नभएपछि समाजसेवाबाट पूरा गरेको प्रमाण पुस्तकमा भेटिने भन्दै श्रेष्ठले यसलाई एक ‘प्रेमको पुस्तक’को संज्ञा दिनुभयो ।

यसै गरी, पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुस्तकमा जगदीश घिमिरेको योगदानको सच्चा कदर गरिएको बताउनुभयो । यस्तै, साहित्यकार ईश्वरमणि अधिकारीले जगदीश घिमिरेसँगका सहयात्राका यादहरुको दस्तावेजका रुपमा पुस्तक आएकाले सबै पाठकका लागि ग्राह्य रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. खगेन्द्रप्रसाद भट्टराईले शुभकामना मन्तव्य राख्दै अन्तर्मनको यात्रालाई पूर्णता दिने पुस्तकका रुपमा आफूले यसलाई बुझेको बताउनुभयो ।

¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष गनेस पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सम्मोहन साहित्यिक पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक रुपिन्द्र प्रभावीले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व सम्पूर्ण सहभागीहरुलाई गराइएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
Share: