भीमसेन टोलमा चार सय १५ को निःशुल्क मधुमेह परीक्षण

Share:

पोखरा, ६ चैत। पोखराको न्यूरोड, गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले भीमसेन टोल मिसा पुचः र भीमसेन टोल ल्याम्ह पुचःसँगको सहकार्यमा आयोजना गरेको शिविरमा चार सय १५ जनाको निःशुल्क मधुमेहसम्बन्धी रक्त परीक्षण गरिएको छ।
शिविरमा सहभागीको खानाअघि र खानापछि मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको हो। सो अवसरमा आयोजित कार्यक्रममा फिजिसियन डा. शंकर बरालले मधुमेह लाग्नुका कारण, रोकथाम गर्ने उपाय र उपचार विधिबारे प्रकाश पारे। उचित सल्लाह, उपचार र मधुमेहको वास्तविकता थाहा नपाउँदा धेरै मानिसको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै उनले रोग लाग्नुभन्दा अगाडि नै सजग रहन र लागिसकेपछि हेलचेक्र्याइँ नगर्न आग्रह गरे।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले यो वर्षभरि मधुमेहसम्बन्धी निःशुल्क रक्त परीक्षण गरिएको र आगामी वर्ष मृगौलासम्बन्धी निःशुल्क परीक्षण शिविर गरिने जानकारी दिए। व्यवसायका अलावा सामाजिक उत्तरदायित्व र मानवता सम्झेर युआरएलले शिविरलाई निरन्तरता दिएको र सर्वसाधारणले शिविरबाट उल्लेख्य लाभ पाएको उनको भनाइ थियो।

भीमसेन टोल गुठीका अध्यक्ष गोपाल बाटाजुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भीमसेन टोल सुधार समितिका सचिव प्रविण बिजुक्छेले गरेका थिए। मधुमेहसम्बन्धी युआरएलले आयोजना गरेको यो १८ औँ निःशुल्क शिविर हो।

कमेन्ट गर्नुहोस्
Share: