थकालीले तोरन्ल मनाए, तारा खेल सुरु

Share:

रञ्जन अधिकारी पोखरा, ८ चैत / पोखरामा रहेका थकाली समुदायले सोमबार विविध कार्यक्रमका बीच आफ्नो महान चाड तोरन्ल मनाएका छन् । थकाली जातिले फागूपूर्णिमालाई बीचमा पार्ने गरेर तीन देखि चार दिनसम्म तोरन्ल मनाउने गर्दछन् । थकाली सेवा समिति, पोखराको आयोजनामा पाँच दिने तारा खेल (धनुष वाण हान्ने) प्रतियोगिता पनि सुरु भएको छ ।

थकाली समुदायले परम्परागत पर्व तोरन्ल्हको अवसरमा १८ दिनदेखि २२ दिनसम्म तारा खेल्ने प्रचलन रहँदै आएको थियो । देशभरका समितिको आयोजनामा केन्द्रिय कार्यालयको निर्णयानुसार विभिन्न स्थानमा तारा खेल आयोजना भएको थकाली सेवा समितिले जानकारी दिएको छ । सोमबार पहिलो दिन थकालीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गर्दै चेलीबेटी, ज्वाई, भाञ्जाभाञ्जीलाई मिष्ठान्न भोजन खुवाएको समितिका अध्यक्ष विश्वमोहन गौचनले बताए । थकाली महिलाहरुले नाकाभोटी खेलेका थिए भने विविध सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए ।

तारा खेलमा सोमबार धौलागिरी, निलगिरी र कालीगण्डकी टिम बनाई बाजी समेत खेलिएको थियो । पहिलो दिन १० खोल हान्न सफल भएकोमा दीपक तुलाचनले तीन, डा. सोमतसिंह तुलाचनले दुई तथा संजीवमान तुलाचन, सुजन गौचन, प्रदीप गौचन र मिन गौचनले एक–एक खोल हान्न सके । मंगलबार र बुधबार पनि यसरी नै खेलिनेछ भने चैत ११ गते अन्तर समाज तथा १२ गते चार चनहरु शेरचन, भट्टचन, तुलाचन र गौचनबीच प्रतियोगिता हुनेछ । जसले सबैभन्दा बढि अंक जोड्न सक्छ, उसलाई सर्वोत्कृष्ट घोषणा गरी नगद र प्रमाणपत्रले सम्मान गरिने कोषाध्यक्ष गोपाल शेरचनले बताए ।

यसअघि, समितिका पुर्व केन्द्रिय उपाध्यक्ष सुरेन्द्र शेरचनले तारा हानेर प्रतियोगिता उद्घाटन गरेका थिए । उनले आफ्नो परम्परागत पर्व भुल्न नहुने बताउँदै प्रत्येक वर्ष कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । उनले आफ्नो भाषा र संस्कृति जोगाएमात्र आफ्नो जाति बाँच्ने बताए । तोरन्ल्हमा थकालीहरुले पितृ पूजा गर्ने गर्दछन् । मध्यरातमा उठेर पितृहरुलाई पूजा गर्ने चलन छ । थकाली जातिले चार अराध्य देव र महालक्ष्मी नरिझ्यव मुख्य गरी मान्ने गर्दछन् ।

समितिका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शिवशंकर गौचनले स्वागत तथा सचिव गोविन्द गौचनले कार्यक्रमको संचालन गरेका थिए । यसअघि, सोमबार बिहान ¥याली थकाली जातिको भेषभुषा, बाजागाजा र झाँकी सहित समिति भवन नदिपुरबाट चिप्लेढुंगा परिक्रमा गर्दै पुनः समिति भवनसम्म ¥याली आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: