
काठमाडौँ, १४ चैत-
नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि भारतमा सम्पन्न बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) र बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाली टोली त्यसपछिको पहिलो मैत्रीपूर्ण खेलमा पनि उच्च मनोबलको साथ मैदानमा उत्रने आशा गरिएको छ । साग र बङ्गबन्धुमा नेपालले स्वर्णपदक जितेको थियो ।
त्यस्तै, केही समयअघि मात्र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नियुक्त गरेको नयाँ जापानी प्रशिक्षक ग्यातुकी कोजीको प्रशिक्षणमा नेपाली टोलीले पहिलो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
नेपालको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड गरी २३ सदस्य छन् ।
