
काठमाडौँ, २२ चैत
व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको छ ।
नयाँ राजनीतिक परिवेशअनुसार संसदीय दलको नयाँ निर्वाचन गर्न संसदीय दलले आज बिहान गरेको विधान संशोधनलाई आजै दिउँसो बसेको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको हो ।
दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गर्ने संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले स्वीकृति दिएको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको उनले बताए ।
काँग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत २४ गते र दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति निर्धारण गरेको छ ।
काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।
