पोखरा कप मंगलबारबाट

Share:

२९ चैत्र, पोखरा-  मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पाँचौं संस्करण मंगलबारदेखि पोखरा रंगशालामा शुरु हुँदैछ। कास्की जिल्ला फुटबल संघको आयोजनामा वैशाख ११ सम्म चल्ने प्रतियोगितामा एक भारतीयसहित १२ टोली सहभागि हुनेछन्।

पुसमा हुनुपर्ने प्रतियोगिता नाकाबन्दीले गर्दा पछाडी धकेलिने क्रममा चैत अन्तिममा पुगेको एन्फा कास्कीका अध्यक्ष धमरबहादुर लामिछानेले बताए। मंगलबार उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र सिमरा–११ ले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताका लागि दुई विदेशी टिम ल्याउने प्रयास गरे पनि बंगलादेशको टोली आउन नसकेको आयोजकले बताएको छ। अध्यक्ष लामिछानेका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका थ्री स्टार, मनाङ मर्सयाङदी, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ खेल्नेछन् भने पुर्वाञ्चल, पश्चिमाञ्चल, झापा, धरान, रुपन्देही, पोखरा र सिमराका टिम सहभागि हुनेछन्। विदेशी टिममा भारतको दिल्ली यूनाइटेड क्लव सहभागि हुने उनले बताए।

आयोजकले यो संस्करणमा पुरस्कार राशिमा पनि वृद्धि गरेको छ। उपाधि विजेताले यो पटक ५ लाख ५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन्। अघिल्लो संस्करणमा विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन्। यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: