माधव पनेरु, पोखरा ३१ जेठ / पोखरा उपमहानगरपालिकामा भएको आर्थिक अनियमितताबारे सञ्चार माध्यमबाट समाचार सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
उपमहानगरपालीकाको अनियमिततको विभिन्न कामको सिलसिलामा भएका अनियमितताको बारेमा केही सञ्चारमाध्यमबाट विभिन्न समयमा समाचार सार्वजनिक भएपछि अख्तियार कार्यलय पोखराले सबै फाईल नियन्त्रणमा लिएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृृत झलकराम अधिकारीले कार्यसम्पदनको नाममा नागरिकलाई सास्ती दिने र नगद समेत अनियमितता भएको प्रमाण सहित सार्वाजनिक भएपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । केहीदिन अगाडिबाट नगरपालिकाको बारेमा समाचारहरु सार्वजनिक भइरहेका छन् ।
बिदेशमा भएकी महिलाको काम गरिदिने नाममा रकम लिएको, पोखरा सभागृह निजी क्षेत्रलाई दिदा कमिसन लिएको, फोहरमैला ठेक्का काण्ड जस्ता दर्जनौ विषयको बारेमा खुलासा भएपछि यतिबेला झलकराम अधिकारी अप्ठेरोमा परेका छन ।
यसअघि अख्तियार कार्यलयमा समेत काम गरेका अधिकारीले अख्तियारलाई समेत प्रभाबित पार्न सक्ने भन्दै आलोचना पनि भएको थियो । समाचार सार्वजनिक भएलगत्तै अख्तियार कार्यलय पोखराले नगरपालिकाको फाईल नियन्त्रणमा लिएको छ ।
आफ्नो कर्तुत लुकाउन नगरपालिकाले सञ्चार माध्यममा अनावश्यक हस्तक्षेप पनि गरेको छ । पोखराको एक स्थानीय रेडियोको समाचार शाखामा अनुमति बिना प्रबेश गरेर छापामार शैलीमा समाचार रोक्न लगाईएको उक्त रेडियोका समाचार शाखा प्रमुखले फेसबुक मार्फत सार्बजनिक गरेका छन ।
बिहानको नियमित समाचार बुलेटिन रोक्न समेत दवाब दिएको समाचार प्रमुखले लेखेको स्टाटसमा उल्लेख छ । विज्ञापन र अन्य विभिन्न प्रलोभन देखाएर न्युज रोक्न खोजिएको बताईएको छ ।
लोकतन्त्रमा समाचारको खण्डन गर्न पाईने अधिकार सुरक्षित हुँदाहँुदै पनि नगरपालिका जस्तो राज्यको प्रमुख निकायले यस्तो हर्कत गरेको भन्दै भत्र्सना गरिएको छ ।
नगरपालिकामा भएको विभिन्न राजनीतिक पार्टी निकटका ट्रेड युनियनका प्रमुखहरु रेडियोको स्टेशनमा गएर हस्तक्षेप गरेको बताईएको छ । समाचार सार्वजनिक भएपछि कार्यकारी अधिकृत अधिकारीले नगरपालिकाका विभिन्न विभागहरुको प्रमुखहरुको बैठक राखेका थिए ।
बैठकमा उनले बाहिर आएको कुरा आंशिक सत्य भएको बताएको नगरपालिका स्रोतले बताएको छ । कतिपय नियमको अभावले र कतिपय ध्यान नपुगेर गल्ती भएको कार्यकारी अधिकृत अधिकारीले बताएको स्रोतले भनेको छ ।
