एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाप्रति अमेरिकी जनताको समर्थन अझै खस्किएको बताइएको छ । उनलाई समर्थन गर्ने भन्दा नगर्नेको संख्या अधिक देखिन थालेको ग्यालपले बिहीबार प्रकाशन गरेको एक सर्वेक्षण नतिजामा देखिएको छ ।
सर्वेक्षणमा भाग लिने ४७ प्रतिशतले राष्ट्रपति ओबामाप्रति आफ्नो समर्थन रहेको बताएका छन् भने ५२ प्रतिशतले उनीप्रति आफ्नो धारणा नकारात्मक रहेको बताएका छन् । जुन ५ देखि ८ सम्म गरिएको यस सर्वेक्षणमा यसअघि गरिएको सर्वेक्षणमा उनीप्रति देखिएको समर्थनमा भन्दा पाँच प्रतिशत घटेको देखिएको छ ।
सामान्यतया अमेरिकी जनताले उनको कार्यकालमा उनीप्रति व्यक्तिगत धारणामा सकारात्मक राखेको देखिएको छ । अर्कोतिर उनीको कामप्रतिको समर्थन औसत देखिएको र त्यो ४८ प्रतिशत भन्दा माथि नगएको ग्यालपले उल्लेख गरेको छ ।
ओबामाप्रतिको समर्थन उनीप्रतिको नकारात्मक धारणाभन्दा तीनपटक मात्र कम देखिएको छ । यस्तो कुरा सन् २०१० को अक्टोबरमा एकपटक तथा २०१३ मा दुईपटक देखिएको छ । सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाको छवटा व्यक्तिगत चरित्रका विषयमा सोधिएको थियो र यी चरित्रमा ओबामाप्रतिको समर्थन गत वर्षको भन्दा घटेको देखिएको छ ।
सर्वेक्षणमा अमेरिकी जनतालाई राष्ट्रपति ओबामाले अमेरिकी जनताले आफ्नो जीवनमा दैनिक रुपमा भोगेका समस्याका बारेमा बुझ्नुभएको छ, (४८ प्रतिशत), उनी इमानदार तथा विश्वास गर्न लायक हुनुहुन्छ (४७ प्रतिशत), उनी बलियो तथा निर्णायक नेता हुनुहुन्छ (४५ प्रतिशत), उनीले अमेरिकी जनताको मूल्यको प्रतिनिधित्व गर्नुहुन्छ (४३ प्रतिशत), उनले सरकार प्रभावकारी रुपमा व्यवस्थापन गर्न सक्नुहुन्छ (३९ प्रतिशत) तथा उनीले मुलुकको समस्या समाधान गर्न सक्नुहुन्छ (३४) भन्ने विषयमा प्रश्न गरिएको थियो ।
