नेपाल स्पोर्टस फिल्म फेस्टिभल सम्पन्न, रञ्जितको फोटो अब पोष्टकार्ड

Share:

रञ्जन अधिकारी पोखरा, १७ बैशाख / पोखरामा पहिलोपटक नेपाल पर्यटन बोर्डको अग्रसरतामा शुक्रवार नेपाल स्पोर्टस फिल्म फेस्टिभल २०१६ आायोजना भएको छ । फेस्टिभलमा नेपालका ४ वटा खेलकुद वृत्तचित्र प्रदर्शन गरिएको थियो । फेस्टिभलको उद्देश्य खेलकुद र फिल्मलाई जोड्दै यहाँको पर्यटन प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएका छन् ।

स्पोर्टस फिल्म फेस्टिभल २०१६ मा भोजराज भाटले निर्देशन गरेको सुनकली, गिरीश गिर द्वारा निर्देशित टिम नेपाल, सूर्य थपलियाले निर्देशन गरेको वियोण्ड द बाउण्ड्री र विजय गजमेर द्वारा निर्देशित आकाश रहेका थिए ।

यसैबीच, पोखरेली फोटो पत्रकार सुदर्शन रञ्जितको आईसिसीद्वारा पुरस्कृत फोटोले पोष्टकार्डको रुप लिएको छ । नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय पोखराले रञ्जितको फोटोलाई पोष्टकार्डको रुप दिएको हो । फेष्टिवलको अवसरमा सो पोष्टकार्डको कार्यक्रमका प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकरप्रसाद कोइरालाले अनावरण गरे । अनावरण कार्यक्रममा सो फोटोका फोटोग्राफर सुदर्शन रञ्जित पनि उपस्थित थिए । सो फोटोले सन २००७ का लागि आइसिसिको एसिसि क्षेत्रीय अवार्ड पाउन समेत सफल भएको थियो ।

वीरगञ्जमा स्थानीय फुटवल टिमको गतिविधी र संघर्षमा आधारित ‘टिम नेपाल’ खेल पत्रकार गिरिश गिरीले निर्माण हुन् भने बिजय गजमेरले निर्माण गरेको ‘आकाश’ एउटा फुटवल फ्यानको सपनामा आधारित वृत्तचित्र हो । त्यस्तै, मुगुमा स्थानिय महिला फुटवल टिम च्याम्पियनसीप बन्दासम्मको गतिविधीलाई समेटेर बनाइएको ‘सुनकली’ भोजराज भाटले निर्माण गरेका हुन् । क्रिकेटर शरद भेषवाकर र राहुल विकको राष्ट्रिय टिममा पुनरागमनको विषयमा निर्माण गरिएको ‘वियोन्ड दि बाउण्ड्री’ सूर्य थपलियाले निर्माण गरेको वृत्तचित्र हो ।

वृत्तचित्र प्रदर्शनपछि वृत्तचित्र निर्माण सम्बन्धि वर्कसप पनि सञ्चालन गरिएको थियो । सो वर्कसपमा नेपाली चलचित्रका चर्चित निर्देशक मनोज पण्डितले वृत्तचित्र के हो ? कसरी बन्छ ? र यसको उपादेयता के हो ? भन्ने बारेमा सहजीकरण गरेका थिए ।

पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त प्रमुख तथा बरिष्ठ अधिकृत सूर्य थपलियाले फेष्टिवलले पोखरेली खेलकुदकर्मीलाई स्पोर्टस वृत्तचित्र बारे बुझ्न सघाएको र वर्कसपले पोखरामा पनि स्पोर्टस वृत्तचित्र निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

फेस्टिभलमा नेपाल स्पोर्टस फाउन्डेशन, रोट्रयाक्ट क्लब पोखरा, नेपाल खेलकूद पत्रकार मञ्च कास्की, आइसफल प्रोडक्शन, लेक टाउर्स होटल, पोखरा इको रिसोर्ट लगायत संस्थाहरुको सहकार्य रहेको थियो भने कार्यक्रममा पर्यटन व्यवसायी, खेलाडी, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिरौटा युथ क्लवका अध्यक्ष सुर्यप्रसाद बरालले क्लवको संयोजनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ताल देखि ताल सम्मको यात्रा गरिने जानकारी दिएका छन् । उनले यही वैशाख ३० गते नै फेवाताल देखि रारातालसम्म सांकेतिक रुपमा साइकल यात्रा सहित निस्कने बताए । क्लबले डेढ महिना अघि पोखरामै सुनकलीको च्यारिटी शो पनि गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: