‘भुकम्पपीडितको नाममा ट्याक्सी ‘नाटक’’

Share:

रञ्जन अधिकारी पोखरा, १९ साउन / ट्याक्सी व्यवसाय समिति पोखराको वर्तमान कार्यसमितिको दुई वर्षे कार्यकाल समाप्त भएपछि यही साउन २६ गते बुधबारका लागि निर्वाचन मिति तय गरिएको छ । अध्यक्ष गिरीले सो मिति साधारणसभाले पास गरेको जानकारी दिए । यसैबीच, महासंघका पदाधिकारीले भने बुधबारको कार्यक्रममा घुमाउरो भाषामा गिरीलाई नै पुनः अध्यक्ष सर्वसम्मत बनाउन आग्रह गरेको छनक आयो । गिरीको नेतृत्व सबल र सक्षम रहेको र केन्द्रमात्र नभई सबै ठाउँमा गिरीको कामको प्रशंसा हुने गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ महासचिव सरोज सिटौलाले नै बताए । गिरीले चार पटक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

यातायात व्यवसायीले सरकारले भूकम्पपीडितको नाममा १५ सय ट्याक्सी दर्ता खुलाउने निर्णयलाई नाटक भएको टिप्पणी गरेको छ । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका युवालाई स्वरोजगार बनाउने भन्दै सरकारले हालै १५ सय नयाँ ट्याक्सी दर्ता खुलाएको छ। यही साउन ५ देखि भदौ २ गतेसम्ममा दर्ता निवेदन पेश गर्न भनेको छ । १५ सय ट्याक्सी भनेपनि हजारौंले आवेदन दिएपछि यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नाम छनौट गर्ने तयारी गरेको छ । तर यातायात व्यवसायीले विजयकुमार गच्छदारले सम्हालेको यातायात मन्त्रालयलाई यस्तो निर्णयका लागि कसले सल्लाह दियो भनेर आश्चर्य प्रकट गरे ।

ट्याक्सी व्यवसाय समिति पोखराको बुधबार आयोजित ३६ औं महासमिति बैठक एवं साधारणसभामा सहभागी नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीले साँच्चै भुकम्पपीडितलाई यातायात क्षेत्रमा राहत दिन खोजेको हो भने सरकारले शुन्य भन्सारमा सवारी खरीदको वातावरण बनाउन चुनौति दिए । ‘यातायात मन्त्रालयले ठूलो भ्रष्टाचार गरेको छ । सब कमिशनको खेल हो । पालमुनी बस्न नपाएका भुकम्प पीडितले १८ लाखको ट्याक्सी कसरी किन्न सक्छन् ?’ महासंघका महासचिव सरोज सिटौलाले भने– ‘बुझ्दै नबुझेका सोझासाझाहरु यातायात विभागमा घण्टौं लाममा बसेर आवेदन दिएको भेटियो । सित्तैमा पाउने भ्रम छरिएको छ ।’ उनले सरकारले १५ सय तोकेर सिण्डिकेट गरेको आरोप लगाए । उपाध्यक्ष भरत तिमिल्सिनाले पनि १५०० मात्रै भूकम्पपीडित हुन् ? भन्ने प्रश्न गर्दै विदेशीले दिएको राहत बाँड्न नसकेर कुहाउने सरकारले साँचो मनले यो निर्णय नगरेको आरोप लगाए ।

महासचिव सिटौलाले यो वर्ष भुकम्प, नाकाबन्दी र केन्द्रिय अध्यक्ष दिनेश भण्डारीको निधन मुख्य तीन चुनौति आईपरेको जनाउँदै नाकाबन्दीमा स्वाभिमान अडिग राख्न यातायात व्यवसायी, मजदुरको ठूलो भूमिका रहेको उल्लेख गरे । ‘हेल्मेट लगाएर, प्लाईउड अगाडि तेर्साएर गाडी चलाईयो । कतिलाई जिउँदै जलाउने प्रयास भए तर हामी पछि हटेनौंैं । भारतको राजनीति फेल भयो । मधेशी राजनीति फेल भयो ।’– सिटौलाले भने– ‘मुलुकमा पौने ३ खर्ब निजी लगानी, ४० लाखले प्रत्यक्ष , अप्रत्यक्ष रोजगारी र १८ प्रतिशत बढि राजश्व तिर्ने यातायात क्षेत्रलाई राज्यले वास्ता गर्दैन ।’

कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष डोलनाथ खनालले प्रशासन र राजनीतिक दलहरुको सहयोग रहेकाले कास्कीमा धेरै समस्या नभएको बताए । उनले व्यवसायिक एकता भए पूँजी र रोजगारी सुनिश्चित हुने भएकाले संस्थाको हितमा अघि बढन् आगूह गरे । राजनीतिक आस्था फरक भएपनि संस्थाको हितलाई ध्यानमा राखेर अघि बढ्न आग्रह गर्दै उनले पोखरामा देखिएको विन्ध्यवासिनी बस समितिसँगको विवादलाई महासंघले साम्य पार्ने बचनबद्धता प्रकट गरे । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले यातायात क्षेत्रबारे न्युजमा पहिलो पृष्ठमा आउन कि दुर्घटना हुनुपर्ने कि त सिण्डिकेट मात्र आउने गरेकोमा दुःखेसो पोख्दै व्यवसायीहरु कहाँ चुकेका छौं ? स्वमुल्याकंन गर्न आवश्यक भएको बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत डिल्लीप्रसाद ढुंगानाले यातायात व्यवसायी असल बन्नुपर्ने, नियम पालना गर्नुपर्ने बताउँदै राज्यले कतिपय सवालमा हेर्न नसकेको स्वीकार गरे । सो अवसरमा पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष एवं महासंघ केन्द्रिय सदस्य ऐनकुमार साईले यातायात क्षेत्रमा विकृति आउनुमा केहि यातायात व्यवसायीकै हात रहेको खुलासा गरे ।

‘म त गाडी बेच्ने पेशा हो जसलाई नि बेच्छु । स्वीकृति दिन पोखरा बस व्यवसाय समितिकै पुर्व अध्यक्ष वर्तमान कोको पर्छन् खोजी गरे गरौंला । हामीलाई आरोप किन ?’ साई झोक्किए – ‘नयाँ गाडी जरुरत नहुँदा पोखरा बस र ट्याक्सीले सहमति गरेरै ३४/३४ थप्न सहमति गर्ने । विन्ध्यवासिनीका लागि कहिले कति ? कहिले कति ? बस दिन खोज्ने । यस्तो ठीक भएन । यो समस्या सुल्झाउन जरुरी छ ।’

समितिका अध्यक्ष गान्धीराज गिरीले पोखरामा कुनै हालतमा पोखराका ट्याक्सी मिटरमा गुड्न नसक्ने बताए । उनले वैज्ञानिक ढंगले निर्धारण गर्ने र सडक पुर्वाधार राम्रो हुने हो भने ट्याक्सी मिटरमा चलाउन तयार रहेको जनाए । गिरीले भन्सार सहुलियत भएको पर्यटक बसले सर्वसाधारण बोक्ने, विदेशी नम्बर प्लेट, नीजि गाडी र मोटरसाईकलले साइट सिन गर्ने कार्य कसले रोक्ने भन्ने प्रश्न गर्दै यातायात व्यवसायीलाई मात्र राज्यले दुःख दिएको आरोप लगाए ।

कार्यक्रममा काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, एमाले सचिवालय सदस्य युवराज पौडेल, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ, गण्डकीका संयोजक सिंहबहादुर कार्की, नेपाल यातायात मजदुर संघ कास्कीका जीत गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका विष्णु खत्री, अखिल नेपाल यातायात मजदुर संघ कास्कीका रमेश सिंखडा, वरिष्ष्ठ उपाध्यक्ष प्रकाशमणि तिवारी, महासचिव पूर्ण बहादुर गुरुङले बोलेका थिए ।

कार्यक्रममा उत्कृष्ट चालक, व्यवसायी तथा चालकका छोराछोरीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गरिएको थियो भने मृत्यु भएका चालकका परिवारलाई आर्थिक सहयोग तथा उमेरका कारण चालक बन्न अयोग्य भएका रेशमलाल शर्मालाई नगद सहित सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: