
काठमाडौं २४ साउन
गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर आज नुवाकोटमा दुर्घटना भएको छ ।
सिर्दिवास गाविस – ८ फिलिमबाट विरामी लिएर उडेको नाइन एन.ए.के.ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् । ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब–करिब पुष्टि भएको छ ।’ उनले भने ।
हेलिकोप्टरमा एक चालक सहित ६ जना सवार थिए । उनीहरूको अवस्था कस्तो छ भनेर खुलिसकेको छैन । फिस्टेल एयरले दिएको जानकारी अनुसार नुवाकोट क्षेत्रमा आइपुगेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ ।
