
पोखरा, २४ साउन-
पोखरा विश्वविद्यालयमा भर्खरै एमबीएमा भर्ना भएका नयाँ विद्यार्थीहरुहरुबीच पोखरामा सोमबार अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
व्यवस्थापन बिषयमा कसरी पोख्त बन्ने र कसरी व्यवहारिक सिकाईमा ढाल्ने भन्ने बिषयमा भर्खरै विश्वविद्यालयको स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो ।
पोखरा विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई अभिमुखिकरण गर्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले विद्यार्थीहरु समाजप्रति पनि उत्तरदायी हुनुपर्ने धारण राखे । उनले सिकाई भन्दा मात्रै पनि विद्यार्थीहरुमा अन्यायको विरोध गर्न सक्ने क्षमता हुनुपर्नेमा जोड दिए । नियमित पढाईसँगै देश, काल र व्यवस्थाको जानकारी भएमा नै कुशल व्यवस्थापक एवं व्यवसायी बन्न सकिने उनको भनाई थियो ।
यसैगरी, संचार उद्यमी तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष महेश भण्डारीले विद्यार्थीहरु अध्ययन मात्रै नभई कल्पनाशिल पनि हुनुपर्ने बताए । विद्यार्थीमा अध्ययन, अनुभव, कल्पनाशिलता र भ्रमण अहिलेका विद्यार्थीमा जरुरी रहेको उनको भनाई थियो । विभिन्न सफल व्यक्तित्वको उदाहरण दिँदै भण्डारीले अन्य सफल व्यक्तिको अध्ययन चाहिँ गर्नुपर्ने तर आफ्नो मौलिक परिचय र पहिचानलाई पहिल्याउनुपर्ने बताए ।
यस्तै, सूर्य टोबाको कम्पनीका फ्याक्ट्री व्यवस्थापक बाबुराम कार्कीले जुनसुकै संकायबाट स्नातक गरेपनि एमबिए सबैका लागि राम्रो बिषय भएको उल्लेख गरे । उनले आफू पनि फरक संकायबाट स्नातक गरेर एमबिए पढेको हुनाले नै उत्कृष्ट म्यानेजर पदमा आएको उनले बताए ।
पोखरा विश्वविद्यालयका पूर्व रजिष्ट्रार दिपकबाबु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन दुर्गा चापागाईं र सञ्चालन उमेश सिंह यादवले गरेका थिए
