
नवराज ढुङ्गाना
पोखरा, १४ भदौ–
नेपाल टेलिकमको टावरभित्र छिरेर टेलिफोन तथा इन्टरनेटको तार चोर्ने एकजना कास्कीबाट पक्राउ परेका छन् ।
कास्कीको कृष्तिस्थित टेलिकमको नवनिर्मित टावरभित्र छिरेर तार काटिरहेको अवस्थामा प्रहरीले कैलालीका अनवर चौधरीलाई पक्राउ गरेको हो । टावर मर्मतका लागि भन्दै टावर रहेको घरभित्र पसेर चौधरीले धमाधम तार काट्न थालेपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
टावरका सेक्युरिटी गार्ड र स्थानीय बासिन्दाको सहयोगमा उनलाई कास्की प्रहरीको जिम्मा लगाईएको हो । चौधरी टेलिकमको टावर निर्माणको जिम्मा पाएको बि थ्रि नामक ठेकेदार कम्पनीका कामदार हुन् । टावर निर्माणको काम सकिएपछि उनले त्यहाँ प्रयोग गरिएको तार चोर्न खोज्दा प्रहरीको फन्दामा परेका हुन् ।
पोखरामा टावर निर्माणका लागि जिम्मा दिईएका कम्पनीका कामदारबाट निर्माण सम्पन्न भैसकेपछि यस्ता घटना बारम्बार दोहोरिने गरेका गरेका नेपाल टेलिकम पोखराका इन्जिनियर प्रेमराज ढुङ्गानाले बताए ।
टेलिकमले फोन तथा इन्टरनेटको तार चोर्नेहरुविरुद्ध कडा कदम चाल्ने उनले बताए । सञ्चारको सुविधाबाट सर्वसाधारणलाई बञ्चित गराउने यस्ता गिरोहको बारेमा थाहा भएमा टेलिकममा जानकारी गराई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।
