‘चैतभित्र स्थानीय निर्वाचन हुनेमा आशङ्का’

Share:

बागलुङ, ६ असोज । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

स्वास्थ्यसम्बन्धी अभियानका क्रममा बागलुङ पुगेका उनले निर्वाचनका लागि भएको तयारीप्रति असन्तुष्टि पोखे । “अहिलेकै गतिको तयारीले तीनै तहको निर्वाचन समयमै हुनेमा आशङ्का पैदा गरेको छ, दलहरु गम्भीर भएनन् भने समस्या उत्पन्न हुन सक्छ”– उनले भने । निर्वाचनका लागि आवश्यक कानुनी, प्रशासनिक र व्यवस्थापकीय तयारीमा सरकारले तदारुकता देखाउनुपर्नेमा उनले जोड दिएका छन् ।

निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार पहिलो जिम्मेवार पक्ष भए पनि सबै राजनीतिक दल गम्भीर भएर अघि बढ्नुपर्ने उनको धारणा थियो । लोकतन्त्रमा निर्वाचन अनिवार्य भएकाले संविधानप्रति असुन्तष्ट दल पनि निर्वाचनबाट अनुमोदित भएर आउनुपर्ने उनले बताए ।

‘नेपाल किड्नी फाउन्डेसन’ ले विहिबार बागलुङमा आयोजना गरेको मिर्गौला परीक्षण शिविरमा फाउन्डेसनको सल्लाहकार उप्रेतीले जनताको स्वास्थ्य ठीक भएमा मात्र लोकतन्त्रको स्वास्थ्य पनि ठीक हुने प्रतिक्रिया दिए ।

कमेन्ट गर्नुहोस्
Share: