
पोखरा, ९ असोज / राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको उपयोगका लागि प्रत्येक नेपाली जाकरुक बन्नुपर्ने बताएका छन् ।
सामुदायिक सूचना समाज पोखराद्वारा आज आयोजित ‘बिग वाच अभियान’ उद्घाटन तथा विशेष प्रशिक्षण कार्यक्रममा उहाँले नेपालको संविधानले सूचनाको हक पाउने कुरालाई सुनिश्चित गरेपनि त्यसको उपयोगमा सर्वसाधारण अझै जागरुक बन्न नसकेको बताए । सरकारबाट हुने सेवा प्रवाह एवम् प्रत्येक सार्वजनिक निकायबाट भए गरेका कामका सम्बन्धमा जनताले चाहेका अवस्थामा सूचना प्राप्त गर्न सक्ने उनले बताए ।
स्वामी आनन्द अरुणले कानुनको पालना प्रत्येक नागरिकले गर्नुपर्ने भए पनि नेपालमा कानुन कमजोर जनताका लागि मात्र लागू हुने गरेको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।
बिग एफएमका समाचार प्रमुख माधव पनेरुले समाजमा सुशासनको प्रत्याभूति गराउन एफएमले विभिन्न कार्यालयबाट भइरहेको सेवा प्रवाह तथा जनताले भोगेका कठिनाइलगायत विषयलाई ‘बिग वाच अभियान’अन्तर्गत प्रत्यक्ष रुपमा नागरिकसमक्ष ल्याउने कामको थालनी गरेको बताए ।
समाज पोखराका अध्यक्ष दीपक आचार्यले जनताले सुशासनको प्रत्याभूति गर्ने तवरबाट राज्यका प्रत्येक निकायले सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।
