
रेम बिक
पोखरा, २० असोज । विश्वविख्यात मोबाईल कम्पनी सामसुङले गायन रियालिटि शो बिग आइकनको मुख्य प्रायोजन गर्ने भएको छ । बिग आइकनसँग विश्वचर्चित सामसुङ मोबाईलले सहकार्य गरेको यो सहित छैठौँ पटक हो । दोस्रो बिग आइकनदेखि निरन्तर सामसुङ मोबाईल बिग आइकनको मुख्य प्रायोजक हुँदै आएको छ ।
सामसुङ मोबाईलले निरन्तर रुपमा कुनै पनि इभेन्टमा ६ वटा सेरिजसम्म मुख्य प्रायोजन गरेको यो पहिलोपटक हो । र, सामसुङ मोबाईलले यो सहकार्यलाई ऐतिहासिक भनेको छ । त्यस्तै बिग आइकनको आयोजक कम्पनी बिग एफएम पनि यो सहकार्यलाई लिएर निकै उत्साहित भएको छ ।
बिग आइकनको प्रभावकारिता देखेर निरन्तर रुपमा मुख्य प्रायोजकको रुपमा बिग एफएमसँग सहकार्य गरेको सामसुङले प्रतिक्रिया दिएको छ । ‘बिग आइकन एउटा यस्तो साँगीतिक मञ्च हो । जुन मञ्चको प्रभावलाई देखेरै हामीले निरन्तर ६ पटकसम्म यो इभेन्टको आयोजक कम्पनी बिग एफएमसँग सहकार्य गरेका हौँ ।’ सामसुङ नेपालले भनेको छ–‘र, यो खाले सहकार्य अझै जारी रहनेछ ।’
त्यस्तै बिग एफएमका अध्यक्ष महेश भण्डारीले विश्वविख्यात ब्राण्डको मोबाइलको नेपालस्थित आधिकारिक विक्रेता कम्पनीसँगको व्यवसायिक सहकार्यले आफुहरु थप हौसिएको बताए । उनले बिग आइकनको प्रभावकारिता बढाउन सामसुङ मोबाइलको पनि उत्तिकै सहयोगले मात्र सम्भव भएको बताए ।
सामसुङले सातौँ सँस्करणको बिग आइकनको मुख्य प्रायोजन गर्ने विषयमा नेपालस्थित सामसुङ मोबाईलको आधिकारिक विक्रेता कम्पनी आईएमएसका मार्केटिङ हेड आयुश श्रेष्ठ र बिग एफएमका अध्यक्ष महेश भण्डारीबीच सम्झौता भएको हो ।
बिग आइकनको सातौँ सँस्करणमा हालसम्म इन एशोसियसन विद टाइटलमा कान्साई पेन्ट्स नेपाल, सपोर्टेड बाई टाइटलमा पोखरा ट्रेड मल, टेलिभिजन पार्टनरको रुपमा एभिन्यूज, म्यागेजिन पार्टनको रुपमा वेभ, पावर्ड बाई टाइटलमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, हस्पिटालिटि पार्टनरमा होटल बाराहि र मिडिया पार्टनरमा समाधान दैनिकले सहकार्य गरिसकेका छन् ।
तिहारपछि शुरु हुने बिग आइकनको सातौँ सँस्करण अन्तरगतको अडिसन राउण्डका लागि हाल निशुल्क रुपमा फाराम वितरण भैरहेको एफएमले जनाएको छ ।
