रञ्जन अधिकारी, पोखरा २८ असार / पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतप्रतिको नकारात्मक धारणा अन्त्यका लागि समुदायस्तरसम्मै सचेतना आवश्यक रहेका बताएका छन् । ‘बाजेको मुद्धा नातिसम्म आईपुग्दा पनि सुनुवाई हुँदैन भन्ने जनगुनासो छ । मुद्धाको छिनोफानो हुन किन ढिला भयो भन्ने गुनासो चिर्न समुदायलाई बुझाउने पहल सुरु गरिसकेका छौं ।’ उनले भने – ‘समुदाय स्तरसम्म पुग्न रोटरी क्लबहरुसँग सहकार्य गर्न सकिन्छ । हामी मिलेर जाऔं ।’
रोटरी क्लब अफ पोखरा अन्नपूर्णको नवौं पदस्थापन समारोहलाई शनिबार सम्बोधन गर्दै मुख्य न्यायाधीश श्रेष्ठले अदालतप्रतिको दृष्टिकोण सकारात्मक बनाउन अन्तक्र्रियात्मक छलफल जस्ता कार्यक्रम समेत गरिसकेको जानकारी दिए । मानवतावादी सेवामा समर्पित रोटरी विकास निर्माणका कार्यमा पनि अघि बढ्नु सराहनीय रहेको उनले बताए । ‘सरकार समुदायसँग पुग्नै नसकिरहेको अवस्था छ । बीचमा रहनेहरु नै बाधक हुन् ।’ उनले भने ‘रोटरी जनस्तरमा रहेर सामाजिक कार्यमा लागिपरेको संस्था हो । ‘रुल अफ ल’ मा रहेर अघि बढ्नुहोस् ।’ उनले फेवातालको स्थिति नाजुक बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै पोखरालाई बचाउने जिम्मेवारी लिन पनि रोटरीलाई आग्रह गरे ।
रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ जोन २० का असिस्टेण्ट गभर्नर रो. हिमालयदेव सिग्देलले फेवाताल संरक्षणका लागि आधुनिक उपकरणबाट जलकुम्भी हटाउने अभियान रोटरीले सुरु गर्ने जानकारी दिँदै सामाजिक क्षेत्रमा रोटरीले उल्लेख्य काम गरिरहेको जनाए ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले रोटरी अन्य क्लब र टोलविकास संस्थाजस्तो नभएको भन्दै रोटरीको पोलियो रोग विरुद्धको अभियान सराहनीय रहेको बताए ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्ण वर्ष २०१४÷१५ का अध्यक्ष ई. तेजनाथ न्यौपानेलाई वर्ष २०१३÷१४ अध्यक्ष रो. रोशबहादुर गुरुङले पद हस्तान्तरण गरेका थिए । वर्ष २०१४÷१५ का उपाध्यक्ष लक्की कार्की क्षेत्री, सचिव रामचन्द्र शर्मा, कोषाध्यक्ष विजयराज आचार्य, सहसचिवदेवेन्द्र बास्तोला, निर्देशकहरु प्रदीपभक्त आचार्य, योगेन्द्र कुँवर, चेतराम अधिकारी, भुपेन्द्रमान श्रेष्ठ र रामप्रसाद बस्ताकोटी, सार्जन्ट एट आर्म जनपुकार मुनंकमी, सम्पादक बाबुराम बराल, क्लब ट्रेनर डिल्लीप्रसाद शर्मा तथा प्रेसिडण्ट ईक्लेक्ट कल्याण कर्माचार्यलाई नवनिर्वाचित अध्यक्ष ई. तेजनाथ न्यौपानेले रोटरी पिन प्रदान गरेका थिए । अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा सबैसँग सहकार्य गर्दै राम्रा कार्यलाई निरन्तरता दिने र समुदाय लक्षित कार्यक्रमहरु ल्याउने जानकारी गराए ।
बेष्ट मेम्बर अफ द ईयर अवार्ड २०१३÷१४ बाट बाबुराम बराल र बेष्ट बोर्ड मेम्बर अफ द ईयरबाट प्रकाश उदास सम्मानित भए । एसएलसी परीक्षा उत्तीर्ण रोटरीयन सदस्यहरुका छोराछोरी नौ जनालाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
यसैबीच, क्लबले यस वर्ष व्यावसायिक सेवा सम्मानबाट पोखरा नयाँबजारका सानुमान जलारीलाई सम्मान गरेको छ । ३५ वर्ष अघिदेखि पोखरामा नै पहिलोपटक लेथ मेसिन भित्राएर सयौं व्यक्तिलाई सीप सिकाएको भन्दै रोटरीले सम्मान गथरेको हो । जलारी शुशान्ति वर्कशप सञ्चालन गर्दै आएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्णमान गुभाजु, डिल्लीप्रसाद शर्मा, सचिव रामचन्द्र शर्मा लगायतले बोलेका थिए । वर्ष २०१३÷१४ अध्यक्ष रोशबहादुर गुरुङको अध्यक्षता तथा सचिव योगेन्द्र कुँवरको संचालनमा भएको कार्यक्रममा संयोजक तथा वर्ष २०१३÷१४ उपाध्यक्ष कल्याण कर्माचार्यले स्वागत, वर्ष २०१३÷१४ उपाध्यक्ष लक्की कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।
