आश्चर्य र उल्लासका बीच विश्वकप फुटबल सम्पन्न

Share:

काठमाडौँ, असार ३० – एक महिनासम्म विश्वभर चर्चाको शिखरमा रहेको २०औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता विभिन्न कीर्तिमानका साथै फुटबलको इतिहासमा नयाँ अध्याय थप्दै आज बिहान सम्पन्न भयो ।

विश्वकप फुटबल प्रतियोगिताको उपाधिसँगै जर्मनीले विभिन्न कीर्तिमानसमेत कायम ग¥यो । विश्वकप इतिहासमा जर्मनीले सेमिफाइनल खेलमा ६ मिनेटको अवधिमा ४ गोल गर्दै कम समयमा धेरै गोल गर्ने राष्ट्रको नाममा नयाँ कीर्तिमान कायम ग¥यो भने सेमिफाइनल खेलमा जर्मनीले विश्वकप आयोजक ब्राजिललाई ७–१ गोलअन्तरले पराजित गर्दै विश्वकप फुटबलमा सबैभन्दा धेरै गोलको अन्तर गर्ने टोलीको उपाधिसमेत प्राप्त ग¥यो ।

यस्तै जर्मनीका खेलाडी मिरास्लाभ क्लोजले यस विश्वकपमा नयाँ कीर्तिमान कायम गर्ने सौभाग्य प्राप्त गरे । उनले ब्राजिलविरुद्धको सेमिफाइनल खेलमा एक गोल गर्दै यसअघिसम्म ब्राजिलका स्ट्राइकर रोनाल्डोको नाममा रहेको सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानलाई भङ्ग गर्दै नयाँ कीर्तिमान कायम गरे ।
यसबाट ३६ वर्षीय क्लोज विश्वकप फुटबल प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीका रुपमा चिनिए । उनले रोनाल्डोको नाममा रहेको १५ गोलको कीर्तिमानलाई तोड्दै विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका हुन् । क्लोजको नाममा अब १६ गोल रहेको छ । उनले सन् २००६ को विश्वकप प्रतियोगितामा पाँच गोल गर्दै सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधिसँगै गोल्डेन बुटसमेत जितेका थिए ।
विश्वकप इतिहासमा नै जर्मनी पहिलोपटक दक्षिण अमेरिकी भूमिमा उपाधि जित्ने पहिलो टोलीसमेत बन्यो भने सर्वाधिक विश्वकप जित्ने टोलीअन्तर्गत इटालीसँगै दोस्रो स्थानमा उक्लियो । इटालीले चारपटक विश्वकप जितेको छ भने ब्राजिल पाचौँपटक विश्वकप जितेर पहिलो स्थानमा छ ।
आज जर्मनीको जितका लागि मारियो गोजेटले खेल सकिन सात मिनेट बाँकी हुँदा गरेको ऐतिहासिक एक गोल नै जर्मनीको उपाधिका लागि निर्णायक बन्यो । जर्मनीले पहिलोपटक सन् १९५४मा विश्वकप जितेको थियो भने दोस्रो सन् १९७४ र तेस्रो १९९० मा विश्वकप उचालेको थियो ।
यसैगरी कोलम्बियाका गोल रक्षक फारयड मोन्डागनले उमेरसमूहमा नयाँ कीर्तिमान कायम गरे । उनले ४३ वर्षको उमेरसम्म पनि विश्वकप खेल्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । यसअघि क्यामरुनका खेलाडी रोजर भिल्लाको नाममा उक्त कीर्तिमान रहेको थियो । सन् १९९४ मा भएको विश्वकपमा खेल्दा उनी ४२ वर्षका थिए ।
यस्तै पाँचपटकको विश्वकप विजेता र यसपटकको आयोजक ब्राजिलको लागि भने यस विश्वकपले नकारात्मक कीर्तिमान दियो । सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ को अकल्पनीय हार बेहोरेपछि ब्राजिलका लाखांँ समर्थकमात्र निरास भएनन् नेपालकै एक किशोरीले समेत त्यो गहिरो चोटको आबेग नियन्त्रण गर्न नसकी आत्महत्या गरेको समाचार आउँदा नेपालीहरुलाई थप दुःखी तुल्यायो । ब्राजिल विश्वकप इतिहासमा नै पहिलोपटक यति फराकिलो गोलअन्तरले हार्ने पहिलो टिमसमेत बन्यो । यस हारलाई ब्राजिलले विश्वकप इतिहासमा कालो धब्बाका रुपमा समेत लिएको छ भने यसपटकको विश्वकपमा सर्वाधिक चर्चा र आश्चर्यको विषय पनि यही नै हुन पुग्यो ।
ब्राजिलका खेलाडी नेमारलाई सेमिफाइनलमा गुमाउनु नै ब्राजिलका लागि घातक बन्न पुग्यो । कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलमा कोलम्बियाका खेलाडी हुँवा जुनिगाले नराम्रोसँग ट्याकल गर्दा उनको ढाडको हड्डी नै भाँचिन पुग्यो जसले गर्दा त्यसपछिका खेलमा नेमारले खेल्न पाएनन् ।
यसैगरी विश्वकप यात्रामा अर्काे एउटा रोचक तथ्य बन्यो इटालीका खेलाडी जर्जियो चेलिनीलाई टोकेको घटना । उरुग्वेका फरवार्ड लुइस सुआरेजले इटालीविरुद्धको खेलमा जर्जियोलाई अचानक कुममा टोक्दै विश्वकप इतिहासमा नै पहिलोपटक सबैभन्दा बढी जरिवानाको भागिदार बन्नपुगे ।
कारबाहीस्वरुप सुआरेजलाई अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले नौ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाउनुका साथै चार महिनासम्म खेल्न नपाउने सजाय तोक्यो । उसलाई कारबाहीस्वरुप एक लाख बाह्र हजार डलर जरिवानासमेत गरियो । यो विश्वकप इतिहासमा नै सबैभन्दा ठूलो कारबाही हो । सो प्रतियोगितामा उरुग्वेले इटालीलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।
यस विश्वकपमा सुरुदेखि नै असाध्यै उत्साहजनक खेल प्रदर्शन गर्दागर्दै पनि नेदरल्याण्ड्सले तेस्रो स्थानमै चित्त बुझाउन बाध्य हुनुप¥यो । पटकपटक सेमिफाइनलसम्म पुगे पनि विश्वकप चुम्ने सपना साकार पार्न नपाएको निदरल्यान्डस्ले यसपालि पनि त्यो सपना आगामी विश्वकपका लागि थाती राख्न बाध्य हुनुप¥यो ।
अर्जेन्टिनासँग १२० मिनेटसम्म सानदार प्रतिस्पर्धात्मक खेल खेली अन्त्यमा टाई ब्रेकरमा दुईका विरुद्ध चार गोलले पराजित हुनुपरेको दृष्य विश्वभरका फुटबलप्रेमी दर्शकहरुले धेरै पछिसम्म पनि बिर्सने छैनन् ।
नेदरल्यान्ड्सको टिमले आशातित सफलता पाउन नसके पनि त्यसका खेलाडी रोबिन भान पर्सी भने निकै चर्चामा आए । पर्सीले स्पेनविरुद्धको खेलमा गरेको एउटा हेड गोलले विश्वभरि नै निकै चर्चा बटुल्यो । उनले डिबक्स एरियाबाट डाइभ गरी हेड गोल गरेका थिए । पर्सीको त्यही गोलको सम्मान गर्दै नेदरल्यान्ड्स सरकारले त्यसको चित्रअङ्कित सिक्कासमेत जारी ग¥यो, जुन हारालुछ भई दुई घण्टाभित्रै सकियो ।
विगत २८ वर्षको लामो प्रतीक्षापछि क्वाटरफाइनलमा प्रवेश गरेको बेल्जियमको यात्रा पनि क्वाटरफाइनलमा नै सीमित रह्यो । क्वाटरफाइनलमा अर्जेन्टिनासँग हार बेहोरेपछि बेल्जियमको अघिल्लो चरणको प्रवेशमा पूर्र्णबिराम लागेको थियो ।
त्यस्तै विश्वकप इतिहासमा नै यसपटक सबै समूहका विजेता टोली पहिलोपटक अन्तिम आठमा प्रवेश गरेका थिए । यस्तै गत संस्करणको विश्वकप विजेता स्पेन समूहचरणको खेलमा नेदरल्यान्ड्ससँग १–५ गोलअन्तरले हार्नु आफैँमा एउटा अनौठो घटना भयो । इङ्ल्यान्ड, इटालीजस्ता फुटबलका महारथी राष्ट्रहरु छनोट चरणबाट नै बाहिरिनु पनि कम उदेक लाग्दो थिएन ।
फुटबलका अर्का महारथी अर्जेन्टिना भने तेस्रोपटक उपाधि जित्ने दाउमा रहे तापनि आज बिहान भएको खेलको बाँकी सात मिनेटलाई जोगाउन नसक्दा हार भोग्न बाध्य बन्यो ।
अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले सुरुवातका चारै खेलमा ‘म्यान अफ द म्याच’ भएर नयाँ कीर्तिमानसमेत कायम गरेका थिए । उनले क्रोएसिया, इरान र नाइजेरियाविरुद्धको खेलमा गोल गर्दै ‘म्यान अफ द म्याच’ भएका थिए भने यस विश्वकपमा उनले गोल्डेन बल प्राप्त गरे ।
यसपटकको विश्वकपबारे प्रतिक्रिया दिँदै अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष गणेश थापाले आफूले यस विश्वकपमा मेसीले जित्ने सपना देखेको तर पूरा नभएको बताए । मेसी निकै प्रतिभावान खेलाडी भएकाले पनि जित्ने आशमा रहेको उनको भनाइ छ ।
उनले यस विश्वकप फुटबल प्रतियोगितामा सारा मानिसले ‘इन्जोय’ गरेको भन्दै खेलकुदको माध्यमबाट देशलाई चिनाउनुका साथै एकताको सूत्रमा बाँध्ने कामसमेत गरेको बताए । विश्वकपको यात्रामा नेपाल धेरै पछाडि रहे तापनि सरकार, सम्बन्धित निकायको साथ र सहयोग भएमा नेपालको विश्वकप सपना टाढा नरहने उनले बताए ।
यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व सहायक प्रशिक्षक राजुकाजी शाक्यले यस विश्वकप फुटबल प्रतियोगिताले नेपाली फुटबल खेलाडी तथा प्रशिक्षकलाई सिक्ने मौका दिएको बताए ।
उक्त प्रतियोगिताबाट बललाई कसरी बचाउ गर्ने, कुन समयमा गोल गर्ने भन्ने आफ्नो प्रशिक्षणका लागि निकै सहयोग हुने उनको भनाइ छ ।
यस्तै युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले लिग चरणबाट नै निकै रोमाञ्चक बनेको विश्वकप फुटबलमा ब्राजिलजस्तो शक्तिशाली टिमले पनि सात गोल खानु ऐतिहासिक घटना नै भएको टिप्पणी गरे । उनले यो विश्वकप खेलाडीले टेक्निकल सीप सिक्नका लागि निकै सहयोगी भएको चर्चा गरे । सहसचिव पौडेलले नेपालमा पनि खेल क्षेत्रको विकास र विस्तारको लागि पँुजीगत लगानीको खाँचो रहेको बताए ।
आगामी एक्काइसौँ संस्करणको विश्वकप सन् २०१८ मा रुसमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: