काठमाडौं, ३१ असार । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ४४ मतले पछि पार्दै संसदीय दलका नेता समेत रहेका ओली एमालेको अध्यक्ष बनेका हुन् । आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओलीले यसपटक दोस्रो प्रयासमा जितेका हुन् ।
ओलीले १०४७ मत पाएका छन् भने नेपालले १००३ मत पाएका छन् । ओली आफ्नो ४० वर्षे संघर्षशील राजनीतिको प्रतिफलस्परुप नेकपा एमालेको सर्वोच्च पदमा पुगेका छन् । संसदीय दलको चुनावमा अध्यक्ष झलनाथ खनाललाई हराएर विजयी सुरुवात गरेका ओलीले आफ्ना बलिया प्रतिद्वन्दी माधव नेपाललाई जिते पनि उनका सामु खडा भएका र हुने चुनौतीका पहाडलाई भने जित्न बाँकी छ ।
पदाधिकारीमा आधा-आधा
अध्यक्षमा केपी ओलीले जिते पनि पदाधिकारीमा भने नेपाल पक्षका आधा उम्मेदवारले जितेका छन् । अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक उपमहासचिव र दुई सचिव ओली प्यानलका जितेका छन् भने तीन उपाध्यक्ष, एक उपमहासचिव र तीन सचिवमा नेपाल प्यानलका विजयी भएका छन् ।
महासचिवमा ओली प्यानलका ईश्वर पोखरेल विजयी भएका । कठिन प्रतिस्पर्धामा उनले माधव पक्षका सुरेन्द्र पाण्डेलाई ६ मतले पछि पारे । पोखरेलले १०३६ मत पाएका छन् भने पाण्डेले १०३० मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा ओली प्यानलका वामदेव गौतम र विद्या भण्डारी विजयी भएका छन् भने नेपाल पक्षका भीम रावलसँगै अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली विजयी भएका छन् । उपमहासचिवमा दुबै प्यानलका एक एक जना विजयी भएका छन् । ओली पक्षका विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भुसाल वियी भएका छन् । सचिवमा पनि नेपाल पक्ष बढी सचिवमा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भएका छन् । ओली पक्षका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । ओली पक्षका चर्चित युवा नेता शंकर पोखरेलले सचिवमा जित्न सकेनन् । त्यस्तै वैचारिक नेता रघुजी पन्त उपमहासचिवमा पराजित बनेका छन् ।
निर्वाचित भएलगत्तै ओलीले भने- ‘प्रधानमन्त्री पदमा ध्यान छैन’ ‘माधव नेपालसँगको सम्बन्ध राम्रो छ, राम्रै हुन्छ’
एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान प्रधानमन्त्री पदमा नरहेको स्पष्ट पारेका छन् । निर्वाचित भएलगत्तै ओलीले तत्काल सरकार फेरबदल हुने सम्भावना पनि नरहेको बताए । ‘सरकार फेरबद तत्कालै हुनेछैन । अलि पछि भनेको, सरकार भनेकै फेरबदल भइरहने हो । स्थायी सरकार भनेको त तानाशाही हुन्छ,’ उनले भने, ‘मेरो ध्यान प्रधानमन्त्री पदको छैन । देश जनताको लागि केही गरौं भन्ने हो ।’
ओलीले निर्वाचनपछि आउने परिणाममा आफू जानकार रहेको उल्लेख गर्दै सहमतिमा नेतृत्व छानौं भन्दा (माधवकुमार नेपाल) नमानेकाले चुनावै गर्नुपरेको बताए । ‘यही परिणाम हुन्छ भनेर यसरी (सहमतिमा) जाउँ भनेर भनेको थिएँ । जस्तो मिश्रति टिम आएको छ, त्यसो गरौं भनेको थिएँ,’ उनले भने, ‘लडेर समाप्तै पार्ने कुरा भयो । जे होस् निर्वाचन सकिएपछि निर्वाचनको समयका भएका प्रयास अब गरिरहनुपरेन । एमाले फेरि एकजुट एक ढिक्का भएको छ ।’
चुनावअगाडि अनुचित अवान्छित काम भए पनि अब पार्टी एक भएर अघि बढ्ने बताए । ओलीले निर्वाचनमा पराजित नेता नेपालले आफूलाई फोनमा बधाई दिएको बताए । उनले नेपालसँग आफ्नो सम्बन्ध ‘कहिल्यै नराम्रो नभएको, अब पनि राम्रो नै हुने’ बताए ।
माधव नेपालले दिए केपी ओलीलाई बधाइ ! बहुदलीय जनवादको भावना अनुसार अघि बढ्न आग्रह
अध्यक्ष पदमा पराजित बनेका पूर्वप्रधानमन्त्री नेपालले विजेता ओलीलाई बधाइ दिएका छन् ।पार्टीलाई एकतावद्ध बनाएर बुहदलीय जनवादको भावनाअनुरुप अघि बढाउने आग्रह गर्दै नेता नेपालले पार्टीमा राम्रो संकृति निर्माणका लागि आफू लागि पर्ने बताएका छन् ।
निर्वाचनमा पराजित भएलगत्तै मंगलबार साँझ वक्तव्य जारी गर्दै नेता नेपालले ओलीसहित सबै विजयी पदाधिकारीलाई बधाइ दिएका हुन् । ‘महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. के.पी. शर्मा ओलीसहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाइ ज्ञापन गर्दछु, नेपालले भनेका छन्- ‘साथै पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।’
पराजित नेता नेपालले महाधिवशेनका सन्दर्भमा सबै मतदातालाई पनि धन्यवाद ज्ञापन गरेका छन् । नेपालले मंगलबार साँझ जारी गरेको वक्तव्यमा भनेका छन् -’नेकपा एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु । उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
नेपालले पार्टीलाई अझ बलियो र एकतावद्ध बनाएर अघि बढ्न विजेतालाई सुझाव दिएका छन् । पार्टीमा आफू सु-स्पष्ट विचार र असल सँस्कृतिसहितको जनताप्रति समर्पित पार्टी बनाउन लागिपर्ने उनले बताएका छन् । ‘जनताको बहुदलीय जनवादको भावनाअनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ,’ नेपालले भनेका छन्- ‘नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ ।’
यो परिणामबाट म सबैभन्दा खुसी छुः खनाल
नेकपा एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनालले अहिलेको निर्वाचन परिणाम आफूले सोचे जस्तै आएको खुलासा गरेका छन् । केपी ओलीले औपचारिक रुपमा आफूलाइ बिस्थापित गरेपछि मतगणनास्थलबाट बाहिरिएका खनालले यस्तो परिणाम आउछ भन्ने आफूले पहिलेनै आँकलन गरेको बताए ।
‘म यो परिणामबाट अत्यन्त खुसी छु, कार्यकर्ताको भावना बुझ्दा पनि यहि परिणाम आउछ भन्ने मलाई लागिसकेको थियो’ पत्रकारहरुसँग कुरा गर्दै खनालले भने ‘पदाधिकारीमा जसरी कार्यकर्ताले दुवै पक्षलाई मिलाएर जिताएका छन् यसले एमाले अझ एकताबद्ध भएर अघि बढ्छ भन्ने सन्देश दिएको छ’ ।
निवर्तमान अध्यक्षबाट स्वतः बरिष्ठ नेता बनेका खनालले पदाधिकारीको परिणामले एमाले एकताबद्ध रहेको र आगामी दिनमा अझ एक भएर अघि बढ्छ भन्ने देखाएको बताए । ‘नेताहरु दुई गुटमा बिभाजित भए पनि कार्यकर्ताले पार्टी एकढिक्का राख्न चाहे, यसबाट म सबैभन्दा खुसी छु’ खनालले भने ‘ खनालले भने ‘ अब प्यानलहरु बिघटन हुनेछन् र एमाले अझ बढि एकताबद्ध हुनेछ’ । ‘निर्वाचन धाँजा फाटेका छन्, सबैलाई एक ठाउँमा ल्याउने काम गर्छु । मेरो भूमिका सबैलाई समन्वय गर्ने खालको हुन्छ ।’
एमाले पदाधिकारीमा सबैभन्दा लोकप्रिय गोकर्ण बिष्ट
नेकपा एमालेको पदाधिकारीमा सबैभन्दा लोकपि्रय नेताका रूपमा सचिवका उम्मेद्वार गोकर्ण विष्ट देखा परेका छन् । वामदेव गाैतमसमेत बढी मत ल्याउनेमा ‘टफ फाइभ’ मा परेका छन् ।
विजयी गोकर्ण विष्टले पदाधिकारीहरुमध्ये सबैभन्दा बढी मत पाएका छन् । लोकपि्रय मत ल्याउने विष्ट माधव नेपाल प्यानलका हुन् । दोस्रो लोकपि्रय मत अर्का सचिव प्रदीप ज्ञवालीले पाएका छन् । उनीहरु दुबै गुल्मी जिल्लाका हुन् । दुबै नेता फरक प्यानलबाट उम्मेदवार बनेका थिए तेस्रो लोकपि्रय मत माधव प्यानलका उपाध्यक्ष भीम रावलले पाएका छन् भने चौथो लोकपि्रय मत वामदेव गौतमले मत पाएका छ्न । पाँचौमा उपाध्यक्ष विद्या भण्डारीले मत पाएकी छन् ।
एमाले पदाधिकारीमा खसकै वर्चस्व
नेकपा एमालेको १४ सदस्यीय पदाधिकारीमा मधेसी नेताहरु बढारिएका छन् । दुबै प्यानलबाट उपाध्यक्षमा दुई र सचिवमा एक मधेसी उम्मेदवार बनाइएकामा सबैले पराजय व्यहोरेका छन् । उपाध्यक्षमा नेपाल प्यानलका उम्मेदार बनाइएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पराजित भए भने ओली पक्षका धर्मनाथ साहले पनि जितेनन् ।
त्यस्तै सचिवमा ओली प्यानलका उम्मेदवार रघुवीर महासेठ सबैभन्दा कम मत ल्याएर पराजित भए । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डीभी, पीआर र ग्रीनकार्ड विरोधी अभियान चलाएर लोकपि्रयता हासिल गरेको माधव नेपाल पक्षको दाबी थियो । तर, उर्जामन्त्री हुँदा गोकर्ण विष्टले कमाएजस्तो लोकपि्रयता उनले बमाउन सकेको देखिएन । एमालेमा मधेसी समुदायप्रति सकारात्मक दृष्टिकोण प्रवाह हुन सकेको भए पण्डितले जित्ने अनुमान केहीले लगाएका छन् । एमालेले पदाधिकारीलाई समावेशी बनाउने भनेर संख्या बढाइए पनि आरक्षण कोटा नराखेकाले मधेसीको पराजय भएको हो । एमालेले केन्द्रीय सदस्यमा भने मधेशी कोटामा १० केन्द्रीय सदस्यलाई आरक्षण गरेको छ । त्यसो त एमालेभित्र मधेसीप्रतिको जनमत राम्रो छैन भन्ने प्रमाण पनि पदाधिकारीको परिणामले दिएको छ । मधेसविरोधी भनिएका भीम रावललाई एमाले कार्यकर्ताले अत्यधीक मत ल्याएर जिताएका छन् । पदाधिकारीलाई समावेशी बनाउने भन्दै उम्मेदवारीमा दुवै पक्षले महिला, जनजाति र मधेसीलाई समेत स्थान दिएका थिए । मधेसी समुदायका लालबाबु पण्डितले उपाध्यक्षमा ९९८ मत पाए भने धर्मनाथले ९२३ मतमात्रै पाए । रघुवीर भने ९२८ मत पाए । महासेठ आठौं महाधिवेशनमा पनि सचिवमा पराजित भएका थिए ।
हालसालै पेरिसडाँडामा भएको एमाओवादीको स्थायी समितिको चुनावमा पनि एमालेमाजस्तै गरी मधेसी नेताहरु बढारिएका थिए । रामचन्द्र झा, विश्वनाथ साह एमाओवादीको स्थायी समितिको चुनाव हारेका थिए । महिला र जनजाति दुई-दुई एमालेको १४ सदस्यीय पदाधिकारी टोलीमा दुई महिला र दुई जनजाति विजयी भएका छन् । जनजाति समुदायबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा जनजाति आन्दोलनका अगुवा पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । महिलामा दुई उपाध्यक्ष विद्या भण्डारी र अष्टलक्ष्मीले जितेका छन् ।
अधिवेशनअघि बिधान संशोधन बहसमा उपाध्यक्ष, सचिव सहित पदाधिकारीमा आरक्षणको माग भएको थियो। तर नेपाल र ओली दुवै पक्ष यसमा उत्साही नदेखिएकाले त्यसको सुनुवाई भएन। केन्द्रीय सदस्यमा भने विभिन्न जाती, भूगोल र महिलालाई आरक्षण दिएर निर्वाचन भएको छ।
रंगशाला बाहिर ओलीको पक्षमा नाराबाजी
मतगणनामा केपी ओलीको अग्रता फराकिलो हुदै गएपछि नै दशरथ रंगशालाको कभर्ड हल बाहिर ओली पक्षधर एमाले कार्यकर्ताहरुको चहलपहल बढेको थियो । भित्र मतगणना भइरहेको बेला बाहिर ओली पक्षधर कार्यकर्ताहरुले उनको पक्षमा नाराबाजी गर्न थालेको थिए । केपी ओली हाइ हाइ, हामी सबैको एउटै बोली, एमाले अध्यक्ष केपी ओली भन्ने नारा लगाइरहेका थिए । गणनस्थल बाहिर नेपाल पक्षधर कार्यकर्ताहरुको उपस्थिति पातलिन थालेको थियो ।
स्रोतः विभिन्न अनलाईन (Onlinekhabar, Ekantipur, Setopati , क्रस गरिएको ।)








