
रञ्जन अधिकारी पोखरा, १२ मंसिर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), कास्कीको अध्यक्षमा आईतबार सम्पन्न १७ औ जिल्ला अधिवेशनले दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँकार्यसमिति चयन गरेको छ।
समितिको वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम, उपाध्यक्ष प्रेमप्रसाद शर्मा, महिला उपाध्यक्ष उमा लामिछाने, सचिवमा मथुराप्रसाद पौडेल, कोषाध्यक्ष विष्णु तिमिल्सिना, सहसचिववमा राम गुरुङ, श्रीकृष्ण अधिकारी, सहकोषाध्यक्षमा जगत थापा चयन भएका छन्।
त्यसैगरी, समितिको सदस्यहरुमा शुशिला अधिकारी केसी, अन्जु अधिकारी, महेन्द्र गुरुङ, सुन्दर ढकाल, नविन बराल, वेदप्रसाद वस्ताकोटी, शिव पोख्रेल, पुष्प पराजुली रहेका छन्। महाधिवेशन प्रतिनिधि शुक्रराज अधिकारी, कर्ण गुरुङ, लोकराज भण्डारी, पुष्पराज पौडेल, रामजी पोख्रेल, कृष्ण सापकोटा, रविन्द्रमोहन अधिकारी चयन भएका छन्।
यसअघि, कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतमले अधिकार विकेन्द्रिकरणको पक्षमा बोर्ड रहेको बताए । उनले नीजि विद्यालय व्यवस्थापन निर्देशिका बनाउने हो भने पनि तयार रहेको उल्लेख गर्दै अब नयाँ शिक्षा निर्देशिका एक महिनाभित्रै आउने जानकारी दिए । कक्षा १ देखि १० सम्म माध्यमिक शिक्षा परिषद् र कक्षा ११ र १२ का लागि एसएलसी बोर्ड बन्ने भन्दै उनले यो वर्ष मात्रै पुरानै प्रणालीका आधारमा परीक्षा सञ्चालन हुने बताए ।
‘कक्षा आठको जिल्ला स्तरीय परीक्षा जिल्ला शिक्षा कार्यालयले नै गर्छ । यसैगरी, अब निर्देशिका आएपछि माध्यमिक र एसएलसी परीक्षाका लागि केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्ति जस्ता काम राष्ट्रिय बोर्डले गर्नुपर्दैन।’ उनले भने– ‘राष्ट्रिय परीक्षा बोर्ड नियमावली किन चाहियो ? शिक्षा नियमावलीमै बोर्डको आवश्यक विषय समावेश गरिएको छ । छुट्टै नियमावली बनायौं भने जिल्ला शिक्षा अधिकारी दायित्वबाट भाग्न सक्छ ।’
उनले सरकारी र संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीबीच छात्रवृत्तिमा विभेद भएको स्विकार्दै छात्रवृत्ति ऐन २०६० संशोधनका लागि तयार भए आफ्नो साथ रहने बताए । उनले हालसम्म कम्पनी ऐन अनुसार दर्ता भएर चलिरहेका प्राईभेट विद्यालय गुठीमा आउनै पर्ने बाध्यता ऐनले नगरेको भन्दै अब भने कम्पनी ऐनमा दर्ता नहुने बताए । गुठीमा जान चाहने विद्यालय कम्पनी ऐनबाट गुठीमा परिवर्तन गर्न सक्ने उनको भनाई थियो ।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक विष्णुप्रसाद अधिकारीले कतिपय निजी विद्यालयको कमी कमजोरी पनि भएको उल्लेख गर्दै सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले ठूलो हिस्सा ओगटेको ओगटेको निजी शैक्षिक संस्थाहरुसँग शैक्षिक विकासका सवालमा सहकार्य गर्दै अघि बढ्ने बताए । कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी हेमनारायण चापागाईंले निजी विद्यालयको भूमिका सराहनीय रहेको र विद्यालय सेवामुखी र बालमैत्री बन्नुपर्नेमा जोड दिए ।
प्याब्सनका केन्द्रिय सल्लाहकार डोलराल पाण्डेले राज्यबाट भएका विभेदकारी नीति विरुद्ध राष्ट्रिय सवालका मुद्धामा प्याब्सन, एनप्याब्सन लगायतका निजी क्षेत्रका संस्थाहरु मिलेर अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
केन्द्रिय महासचिव डिके ढुंगानाले संगठनात्मक गतिविधिबारे प्रकाश पार्दै राम्रा विद्यार्थीहरु निजी शैक्षिक क्षेत्रबाटै उत्पादन भईरहेको अवस्थामा राज्यको नीति भने विभेदकारी रहेको बताए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, एनप्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोची, प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल, अभिभावक संघ कास्कीका अध्यक्ष हेमराज बराल, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष शिव वास्तोला, नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रामप्रसाद पोखरले, एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष गोपालमणि लामिछाने, निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी यूनियन (प्याब्सियू) कास्कीका अध्यक्ष आरसी शर्मा, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले शैक्षिक स्तरोन्नतिका लागि सबैको भूमिका अपरिहार्य रहेकोमा जोड दिए ।
विद्यार्थीका तर्फबाट अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतम, नेवि संघका केन्द्रिय सदस्य भानु ढकाल र अनेरास्ववियू क्रान्तिकारी, कास्कीका अध्यक्ष नारायण बडालले दर्ता नगरी सञ्चालित विद्यालय कारबाहीको दायरामा आउनुपर्ने, विद्यार्थी र अभिभावकलाई भार हुने किसिमले शुल्क वृद्धि गर्न नहुनेलगायतको विषयमा ध्यानाकर्षण गराएका थिए ।
प्याब्सन कास्कीका अध्यक्ष चिनु रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव षडानन्द गौतमले गरेका थिए भने उपाध्यक्ष दिनेश श्रेष्ठले स्वागत र केन्द्रिय सदस्य माधवशरण उपाध्यायले प्याब्सन कास्कीको परिचय दिएका थिए ।
