मिटर नचलाउने ट्याक्सीमाथि आजदेखि कडा कारवाही

Share:

पोखरा, २ साउन । मिटरवाला ट्याक्सीले बिना मिटर यात्रु चढाउने र ठग्ने गरेको गुनासो बढेपछि कास्की प्रहरीले आजदेखि अनुगमन शुरु गर्दैछ । मिटर भएका ट्याक्सीले बिना मिटर चलाएमा तत्काल पक्राउ गरी कारवाही गर्ने तयारीका साथ पोखराका विभिन्न नाकाहरुमा प्रहरीहरु परिचालन हुने भएका छन् । क्षेत्रीय प्रशासक अर्जुन कार्कीको विशेष निर्देशनमा कास्की प्रहरीले कडाईका साथ अनुगमन र कारवाही शुरु गर्ने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख कृष्ण अर्यालले सम्पूर्ण निकायलाई सूचना गरिसकिएको जानकारी दिए । आजदेखि सबै ठाउँमा कडाईका साथ मिटर ट्याक्सीमाथि चेकिङ गरिने र अटेर गर्नेलाई कारवाही गरिने पनि कार्यालय प्रमुख अर्यालले डन न्यूजलाई बताए ।

कुनै पनि यात्रुलाई मिटर ट्याक्सीले मिटर चलाएर लैजान नमानेमा वा अटेर गरेमा १०३ वा ९८५६०—२५७२५ मा तुरुन्त गुनासो टिपाउन ट्राफिक प्रहरी प्रमुख अर्यालले आग्रह समेत गरेका छन् । पोखराको जुनसुकै ठाउँमा पनि मिटरवाला ट्याक्सीले दुःख दिएमा तत्कालै माथि दिइएका नम्बरमा फोन गर्न समेत आमजनतालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

स्मरण रहोस्, यसभन्दा अगाडि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले मिटरवाला ट्याक्सीमा अनिवार्य मिटर सञ्चालन गर्ने अभियान चलाए पनि यातायात व्यवसायीको दादागिरीका अगाडि उनी असफल भएका थिए । यातायात व्यवस्था कार्यालयको लाचारी र मिलेमतोका कारण व्यवसायीहरुले प्रचलित कानुनको समेत ठाडै उल्लंघन गर्दै आईरहेको अवस्थामा पुनः क्षेत्रीय प्रशासक अर्जुन कार्कीको पहलमा कारवाहीको तयारी गरिएको हो । सर्वप्रथम क्षेत्रीय प्रशासकले यातायात व्यवस्था कार्यालयका प्रमुख सहित जिम्मेवार कर्मचारीमाथि कारवाही गर्नैपर्दछ । तबमात्र यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य सम्भव छ ।

डन न्यूज संवाददाता

कमेन्ट गर्नुहोस्
Share: