बिग आइकन आले बेलायतमा, विभिन्न कार्यक्रममा साँगीतिक प्रस्तुती दिँदै

Share:

पुस ५ गते-
छैठौं बिग आइकन साजन आले विभिन्न सांगीतिक कार्यक्रममा भाग लिनका लागि बेलायत पुगेका छन् । द ब्रिटिश कलेज तथा यूरोपको नेपालीपत्रको निमन्त्रणामा बिग एफ एफएमका अध्यक्ष महेश भण्डारीसहित उनी लण्डन पुगेका हुन् । त्यहाँस्थित हिथ्रो विमानस्थलमा उनीहरुलाई नेपालीपत्रका एक्जुकेटिभ रिप्रिजेन्टेटिभ सिद्धार्थविक्रम क्षेत्रीले बेलायतमा स्वागत गरेका थिए ।
पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले हरेक बर्ष आयोजना गर्ने विग आइकनका विजेतालाई हरेक वर्ष द ब्रिटिश कलेज र नेपालीपत्रले बेलायतको सांगीतिक भ्रमण गराउने क्रममा आइकन आले र एफएमका अध्यक्ष भण्डारी लण्डन पुगेका हुन् ।
१० दिनसम्म बेलायत रहँदा विग आइकन आलेले विभिन्न साँगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् ।
आलेले अल्डरसटमा प्यालेस हल र निरमाया रोधीघर, प्लमस्टिडेमा चौतारी रेष्टुरेन्ट तथा तमु धिको ल्होसार कार्यक्रममा गायन प्रस्तुत गर्नेछन् भने अन्य केही कार्यक्रमहरुमा समेत सहभागिता जनाउनेछन् ।
आलेले प्रवासी नेपाली समाजले आयोजना गरेको कार्यक्रममा आज साँझपनि आफ्नो प्रस्तुती राख्दैछन् ।
नेपालमा राष्ट्रियस्तरमै प्रतिष्ठित मानिने बिग एफएम आइकनका विजेता आलेले सांगीतिक कार्यक्रमका लागि बेलायत आउने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन् । बेलायतका नेपाली दाजुभाई दिदीबहिनीमाझ गायन प्रस्तुत गर्न पाउँदा आफू निकै उत्साहित भएको उनले बताए ।
आफूलाई यो अवसर जुटाईदिएकोमा आलेले द ब्रिटिश कलेज र युरोपको नेपालीपत्रलाई धन्यवाद पनि दिएका छन् ।
बिग एफएमका अध्यक्ष महेश भण्डारीले पनि बिग आइकन विजेतालाई बेलायतजस्तो देशमा बसोबास गर्ने दर्शकमाझ प्रस्तुती गर्ने अवसर दिन पाउँदा खुशी लागेको बताए ।
प्रतिभा जन्माउने मात्र नभई उनीहरुलाई सकेसम्म बढी फराकिलो प्लेटफर्म पनि दिने कोशिस गरिएको उनले बताए ।
यसअघि गतबर्ष चौंथो विग आइकन मुस्कान रानाभाटले पनि बेलायतको साँगीतिक भ्रमण गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: