
रेम बिक
पोखरा, १५ पुस । नयाँबजार क्षेत्रको शैक्षिक तथा सामाजिक विकासका लागि काम गर्ने योजनासहित नयाँबजार सामुदायिक विकास संस्थाको गठन भएको छ । रजित जलारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गर्दै संस्थाको शुरुवात भएको हो ।
संस्थाको उपाध्यक्षमा बुद्ध कार्की, सचिवमा सुवास बिक, सहसचिवमा देककुमारी केसी (जलारी) र कोषाध्यक्षमा फिरोज अन्सारी चयन भएका छन् । संस्थाको सदस्यहरुमा संजीव जलारी, समिता जलारी, अन्जु जलारी, विश्वास गहतराज, श्रीकृष्ण सुनार, रञ्जिता श्रेष्ठ, सुरेन लामा, मनराज गुरुङ (साजन) र अफ्जल मियाँ चयन भएका छन् ।
नयाँबजार क्षेत्रका गरिब बालबालिकाको शैक्षिक स्तरोन्नती, नागरिक सचेतना, बालश्रम अन्त्य गर्ने उद्देश्यसहित संस्थाको गठन गरिएको अध्यक्ष रजित जलारीले जानकारी दिए । ‘हाम्रो बजार क्षेत्रमा अझै पनि यस्ता समस्या देखिएका छन् । र, हामी युवाहरुको समूह मिलेर यी विषयमा केहि गरौँ भन्ने उद्देश्यसहित संस्थागत रुपमा एकजुट भएका हौँ ।’ अध्यक्ष जलारीले भने–‘विभिन्न सरोकारवाला संघसंस्था र स्थानियबासीहरुसँगको सहकार्यमा हामीले उद्देश्य प्राप्ति गर्ने लक्ष्य राखेका छौँ ।’
संस्थाले नयाँबजार क्षेत्रमा रहने सडक बालबालिकाको व्यवस्थापनको विषयलाई पनि आफ्नो कार्यक्षेत्र बनाएको छ । त्यस्तै नयाँबजार क्षेत्रको साप्ताहिक सरसफाईलाई पनि संस्थाले अगाडि बढाउने जानकारी दिएको छ । त्योसँगै खेलकुद पर्यटनको विकासका लागि पहल र स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन संस्थाले काम गर्ने अध्यक्ष जलारीले बताए ।
संस्था गठन भएसँगै पुस १५ कै दिनदेखि संस्थाले आफ्नो कामको थालनी गरेको छ । शुक्रबार संस्थाले नयाँबजार क्षेत्रका बासिन्दाहरुलाई विशेष सचेतना ¥यालीमा उता¥यो । नयाँबजारदेखि शुरु भएको ¥याली पृथ्वीचोक, सभागृह, न्यूरोड, वीपीचोक, महेन्द्रपुल हुँदै पुनः नयाँबजार पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा नयाँबजारबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कोणसभामा संस्थालाई आफ्नो उद्देश्यअनुसारको काम गर्न नयाँबजारका स्थानियले आग्रह गरेका थिए ।
कार्यसमिति सदस्यहरुले ‘कुरा भन्दा पनि काम गरेर देखाउने’ प्रतिबद्धता जनाएका थिए । सोहि अवसरमा संस्थाले साप्ताहिक रुपमा नयाँबजार क्षेत्रको सरसफाई गरिने कार्यक्रमको समेत सार्वजनिक उद्घोष गरेको थियो ।

