
पोखरा, १७ पुस-
नेपाल सरकारका खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले आगामी ५ वर्ष भित्र नेपाली नागरिकलाई शुद्ध पिउने पानी उपलव्ध गराईने बताएका छन् । शनिवार पोखरामा रिपोर्टर्स क्लब कास्की शाखाद्धारा आयोजित साक्षात्कार कार्यक्रममा राज्यमन्त्री खड्काले तराई तथा केही पहाडी जिल्लाहरुमा पानीको चरम अभाव हुन नदिन नेपाल सरकारले विभिन्न योजना ल्याएको बताए ।
नेपालमा पानी रिजर्भको प्रणाली नभएको कारण हामी समस्यामा परेको हौं, भन्दै राज्यमन्त्री खड्काले वर्षाको पानी रिजर्भ गरेर हिउँदमा पिउने पानी वितरणको तयारी गरिएको बताए । तराईका जिल्लाहरुमा डिप वोरिङमार्फत वितरण गरिएको पानीलाई शुद्धता प्रदान गरिनु पहिलो कार्य भएकोे बताए । राज्यमन्त्री खड्काले लिफ्ट सिस्टमको माध्यमबाट उपभोक्तालाई पानी वितरणको तयारीमा नेपाल सरकार अगाडि बढिसकेको जानकारी दिए । वढ्दो शहरीकरण, वसाई सराईमा सरकारले विशेष ध्यान दिएको भन्दै पानीको अभावमा गाउँ छोड्नु परेको नागरिकको समस्यालाई सरकार गम्भिर बनेको चर्चा गरे ।
पश्चिमाञ्चल क्षेत्रका १६ जिल्लाका खानेपानी समस्याबारे मन्त्रालयका सचिव भिमप्रसाद उपाध्याय, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट सहित पोखरा आई पुगेका राज्यमन्त्री खड्काले कर्मचारीको मिलेमतो, पुरानो पाईपको संरचनाका कारणाले च’हावट नियन्त्रणकालागि आफू जस्तो कदम चाल्न पनि तयार रहेको प्रस्ट पारे । राज्यमन्त्री खड्काले ४० प्रतिशत चुहावटमा सवै निकायलाई गम्भिर बन्न निर्देशन समेत दिएका थिए । मन्त्रालयले सुख्खा ग्रस्त योजना, साना तथा ठूला योजना ल्याएकोमा सवै मातहतका निकायसंग सहकार्य गरेर अगाडि बढ्न लागेको राज्यमन्त्रीका स्वकीय सचिव सेवक पोखरेलले जानकारी दिए ।
