
श्यामशितल परियार
लमजुङ, २१ पुस-
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हिजोको माओवादी भएर आफुले पार्टीको नेतृत्व गर्न नसक्ने बताएका छन् । नयाँ शक्ति पार्टी हिजोको सोच, विचार र शैलीलाई त्यागेर नयाँ सोच शैलीका साथ अघि बढ्दै गरेको उनले बताए ।
नयाँ शक्ति पार्टी नेपाल लमजुङद्धारा बेसीशहरमा आयोजित ‘समृद्धि सम्भव छ हाम्रै पालामा कसरी ? डा. बाबुराम भट्टराईसंग’को अन्तरसम्वाद कार्यक्रमममा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका अन्य पार्टी पुरानै रुपमा रहे मुलुकमा विकास र समृद्धि सम्भव नहुने पनि उनले तर्क गरे । नयाँ शक्ति पार्टी हिजोका सबै पार्टीभन्दा फरक रहेको उनको कथन छ ।
अर्को एक प्रसंगमा उनले देशको गतिरोध अन्त्य नभई देश विकास र समृद्धिको बाटोमा जान नसक्ने बताए । आन्दोलनरत पक्षको मागलाई सम्बोधन हुनेगरी संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए ।
