कार्की, बास्तोला र लामिछाने पुरस्कृत हुने, छनोट समितिको निर्णय उल्टिएपछि पौडेलले पाएनन्

Share:

पोखरा, ८ साउन / नेपाल पत्रकार महासंघ कास्कीबाट वितरण गरिने तीन वटा पुरस्कारको प्रतिभाहरु छनौट भएका छन । महासंघ कास्की शाखाको हालै बसेको कार्य समितिको बैठकले स्वर्गीय दया शंकर स्मृति पत्रकारिता पुरस्कार, पोखरा पत्रकारिता पुरस्कार र स्वर्गीय गजेन्द्र भण्डारी सृजनशिल पत्रकारिता पुरस्कारको प्रतिभा छनौट गरेको हो ।

महासंघको निर्णय अनुसार समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक नारायण कार्की स्वर्गीय दयाशंखर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । विगत ४२ बर्ष देखि निरन्तर पत्रकारिता गर्दै आएका प्रधान सम्पादक कार्की विविसी नेपाली सेवाका पोखरा सम्वाददाता हुन् । प्रजातन्त्रका सेनानी स्वर्गीय दया शंकर पालिखेको स्मृतिमा उनका परिवारद्वारा स्थापित पुरस्कारको राशी ३३ हजार तीन सय ३३ रुपैया रहेको छ । सो पुरस्कार हरेक बर्ष प्रदान गरिन्छ ।

पुरस्कार छनोटका लागी गठन गरेको प्रतिभा छनोट समितिले गरेको निर्णलाई उल्टयाउदै नेपाल पत्रकार महासंघ कास्कीको बुधबार बसेको बैठकले अग्रज पत्रकार कार्कीलाई पुस्कृत गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिले दुई पटक सम्म पत्रकार रमेश पौडेललाई छनोट गरेपनि महासंघको कार्यसमितिमा विवाद भएपछि छनोट समितिको निर्णय उल्ट्याइएको हो । पहिलो पटक छनोट समितिले पौडेलको नाम सिफारिस गरेपछि छनोट समितिमै विवाद भएको थियो । महासघंबाट सदस्यसचिव रहेको सचिव त्रिभुवन पौडेलले असहमती जनाएपछि सर्वसम्वत निर्णय हुन नसकेपछि महासंघ कास्कीको बैठकमा पनि प्रतिभाको विषयमा विवाद उत्पन्न भएको थियो ।

कार्यसमितिमै अनुमोदन गर्ने बारे विवाद भएपछि सर्वसम्वत नाम लिएर आउन अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेलाई आग्रह गरेको थियो । कार्यसमितिको आग्रहपछि पनि सहमती बन्न नसकेपछि पूृन पौडेलकै नाम छनोट समितिले रिफारीस गरेकोमा बुधबार बसेको कार्यसमिति बैठकले निर्णय उल्ट्याउदै कार्कीको नाम अनुमोदन गरेको हो ।

महासंघ कास्की शाखाका अध्यक्ष रामकृण ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले पुरस्कार दिने निर्णय गरेको हो । अध्यक्ष ज्ञवालीका अनुसार आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्ण बाँस्तोलालाई पोखरा पत्रकारिता पुरस्कारबाट सम्मानित गरिने भएको छ । बाँस्तोला स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष हुन् । ३५ हजार रुपैया नगद पुरस्कार राशी भएको सो पुरस्कार हरेक २ बर्षमा वितरण गरिदै आएको छ ।

त्यसैगरी स्वर्गीय गजेन्द्र भण्डारी स्मृती पत्रकारिता २०७१ बाट खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष विनोद लामिछाने पुरस्कृत हुने भएका छन् । आदर्श नेपाल राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार लामिछाने एक दशक भन्दा लामो समय देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । यो पुरस्कार २५ हजार रुपैया नगद राशीको छ । तीन वटै पुरस्कार साउनको तेश्रो साता वितरण गरिने अध्यक्ष ज्ञवालीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: