न्यूयोर्क, श्रावण १२ / संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको सो आक्रमण आज तेस्रो हप्ता प्रवेश गर्नलाग्दा राष्ट्रसंघको यो अपिल आएको छ ।
पन्ध्र सदस्यीय सो परिषदको आइतबार राति बसेको बैठकपछि सोमबार बिहान सो अपिल आएको बताइएको छ । सो परिषद्ले दिनहुँ नागरिकको ज्यानजाने क्रम तत्कालै रोक्नुपर्नेमा पनि जोड दिएको छ । परिषदले सो आग्रह गरिरहँदा इजरायलले गरेको उक्त आक्रमणको क्रममा एक हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको जानकारी प्यालेस्टाइनले दिएको बताइएको छ ।
प्यालेस्टाइनले दिएको जानकारीअनुसार सो आक्रमणबाट सोमबार सम्ममा एक हजार ३० जनाको ज्यान गइसकेको छ । २४ घन्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरेपनि आक्रमण भने रोकिएको छैन । इजरालद्धारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा आइतबार पनि केही प्यालेस्टिनीको मृत्यु भएको समाचार छ । उनीहरुले आक्रमण रोकेका छैनन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारहिरुका अनुसार दक्षिणी गाजा पट्टिको बेई लाहिया सहरमा इजरायली हवाई आक्रमणमा केही युवकको मत्यु भएको बताइएको छ ।
त्यसैगरी दक्षिणी गाजा पट्टिको खानयुनिसमा इजरायलीतर्फबाट भएको गोली प्रहारमा एक १७ वर्षीय युवकको मृत्यु भएको बताइएको छ । गत जुलाई ८ बाट इजरायलले गाजामा आक्रमण सुरु गरेको हो । उसले जारी राखेको आक्रमणका क्रममा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु हनुको साथै अन्य पाँच हजारभन्दा बढी घाइते भएका छन् ।
यस आक्रामक आक्रमणमा इजरायलका दर्जनौँ सैनिकको पनि मृत्यु भएको अर्काे एक समाचारमा जनाइएको छ ।सुरक्षा परिषद्ले गाजामा मानवीय सहायताको ठूलो खाँचो रहेको भन्दै त्यहाँ ठूलो सङ्ख्यामा बालबालिका र सर्वसाधारण मारिएको भन्दै विनाशर्त र तत्कालै युद्धविरामका गर्न अपिल गरेको हो ।
राष्ट्रपति ओबामाको अपिल
त्यसैगरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि इजरायललाई तत्कालै युद्धविराम गर्न अपिल गरेका छन् । उनले २४ घन्टे युद्धविराम गरेको भनिएको भए पनि सो प्रभावकारी नभएको र नागरिकक हताहत हुने क्रम नरोकिएकोले विनाशर्त र तत्कालै युद्धविराम नै एकमात्र विकल्प रहेको बताउनुभएको हो ।
राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार राती टेलिफोन गरी आक्रमण रोक्न र हाल गाजामा भएको आक्रमणको तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसले जनाएको छ । इजरायली र प्यालेस्टाइनी नागरिकको दिनप्रतिदिन ज्यान गइरहेको अवस्थाले विश्वव्यापी रुपमा हिंसाको सन्देश दिइरहेको भन्दै आक्रमणबाट समस्यको समाधान नहुने भएकोले आक्रमणको घटनालाई तत्कालै रोक्न उनले अपिल गरेका छन् । रासस/एएफपी
