काठमाडौं, श्रावण १२ । व्यवस्थापिका संसद जति अधिकारसम्पन्न छ, त्यति नै जिम्मेवार र अनुशासित थलो पनि हुनु पर्दछ । तर, संसदको समेत अधिकार पाएको दोस्रो संविधान सभाका सभासदहरुको गतिबिधि हेर्दा उनीहरुले आफ्नो मर्यादा ख्याल गरेको देखिदैन् । अधिकार प्राप्तिको बहसमा बाक्लै उत्रिने सभासदहरु कर्तव्यमा भने बारम्बार चुकेका छन् । घट्ना आइतबारको हो । व्यवस्थापिका संसदको बैठकमा नेकपा–एमालेका सभासद राजेन्द्र पाण्डेले स्थानीय स्वायत्त शासन ऐनबारे बोल्नमात्र के थालेका थिए, संसदीय व्यवस्थाको वकालत गरेर कहिल्यै नथाक्ने नेपाली कांग्रेसका सभासद अर्जुननरसिंह केसी र अर्जुन जोशीले सभामुख र बोलिरहेका सभासदको आसनको बीचबाट बाटो काटें ।
सभामुख सुभाष नेम्बाङले ‘बाटो नकाटौं माननीय सभासद्, पछाडिबाट जाऔं । बाटो नकाटौं माननीय सभासद् पछाडि फर्किदिनूस’ भनेर निर्देशन नै दिए । अनि बोल्न उभिएका सभासद् पाण्डेले पनि गुनासो पोखें ‘सभासुख महोदय मैले बोल्दा बोल्दै, बाटो काट्दा काट्दै समय नै बर्बाद भैसक्यो ।’ जवाफमा सभामुखले पनि मुख फर्काउदै भने–‘तपाईले अलि ग्रह दशा देखाउनु पर्छ जस्तो छ माननीयज्यू ।’ सभामुखको उल्लेखित निर्देशन यो पहिलो भने थिएन ।
पटक–पटक सभामुखले दिएको यस्ता निर्देशनलाई सभासदहरुले बेवास्ता गर्दै आएका छन । सभामुखले निर्देशन दिएपछि पनि सभासदहरुले बाटो काट्न छोडेनन् । पर्यटन मन्त्री भिम आचार्यले समेत यस्तो निर्देशनको तत्कालै अवज्ञा गर्दै बाटो काटिदिए । संसदीय अभ्यासमा सभासदले बोल्दै गर्दा सभामुख र सांसदको आसन बीचबाट बाटो काट्नुलाई मर्यादाहिन मानिन्छ । सभासदहरुले सभामुखको निर्देशन विपरित मर्यादाहिन काम गरेपछि राष्ट्रिय जनमोर्चाका सभासद चित्रबहादुर केसीलाई असह्य भएछ क्यार, उनले आफ्नो आसनबाट उठेर संसदभित्रको अनुशासन के हो, कसरी पालना गर्ने भनेर सभासदहरुलाई तालिमको माग राखे, सभामुखसँग । ‘आज समेत सभामुख महोदयले माननीयले बोल्दै गर्दा बाटो काटने मन्त्रीलाई समेत बोलाएर अर्कोतिरबाट पठाउनु पर्यो ।
यस्तो स्थितिमा अब हामीलाई ज्ञान र क्षमता वृद्धिका लागि अभिमुखीकरण गर्नुपर्यो’ उनले माग राखे, –‘संसदभित्रको अनुशासन के हुन्छ रु यो अभिमुखिकरणको एउटा कक्षा अनिवार्य रुपमा राख्नु पर्यो । सभामुखज्यूले कक्षा लिनु पर्यो भन्ने मेरो अनुरोध हो ।’ सभासदहरुको छाडापनले हद नाघिसकेको छ ।
संसद पुस्तकालयमा सभासदहरुले अनावश्यक रुपमा गर्ने गरेको हल्लाको समेत केसीले आलोचना गरे । अनुशासनमा रहन नसक्ने सभासदले जनतालाई कस्तो संविधान दिने हुन भन्ने पिरलो उनैले पोखें । ‘हामी जब लाइब्रेरिमा पढ्न बस्छौं, अध्ययनकर्ता माननीयलाई बाहिरबाट फोन आउँछ । फोनमा जवाफ दिँदा उहाँहरु माननीयहरु मानौं उहाँ आफ्नो घरमा हुनुहुन्छ, आफ्नो आँगनमा हुनुहुन्छ, आफ्नो भान्छामा भए झै बेस्सरी चिच्याएर त्यहाँ बस्नेलाई पुरै डिष्टर्ब गर्नुहुन्छ ।
संसदीय व्यवस्थामा सभामुखलाई जति सम्मानित ठानिन्छ, उनको अ ादेश पालना गर्नु पनि उत्तिकै अनिवार्य मानिन्छ । तर, सभासदहरुले सभामुखको यस्तो आदेशलाई एक कानले सुनेर अर्को कानले उडाउने गरेका छन । यसले एकारित सभामुखको आदेशलाई हल्का बनाएको छैन, बेवास्ता गरेको छ भने अर्कोतिर संसदको गरिमा घटाउने काम गरेको छ ।
Source: सञ्जीव बगाले/imagekhabar.com
